एमाले विवाद/ ‘तटस्थ’ रहने कि ‘नयाँ विकल्प’ दिने


काठमाडौं, श्रावण १० – एमालेभित्र प्रधानमन्त्री तेस्रो चरणको चुनावमा पनि ‘तटस्थ रहने कि नयाँ विकल्प खोज्ने’ भन्ने विवाद देखिएको छ । संस्थापन पक्ष र केपी ओली पक्षका नेताहरूबीचको यसअघि देखिकै विवाद फेरि अर्को मुद्दामा पनि जोडिएको हो । आउँदो १७ मा तेस्रो चरणको चुनाव हुँदैछ । संस्थापन पक्ष राष्ट्रिय सहमति नबनुन्जेलसम्म निर्णय पुनर्विचार गर्नै नहुने पक्षमा छ तर माधव नेपाल र ओली पक्षले भने मुलुकलाई अनिर्णयको बन्दी बनाउने क्रियाकलापमा एमाले सहयोगी बन्न नहुने अडान देखाउन थालेको छ । राष्ट्रिय सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएको एमालेले यसअघिका दुई चुनावमा तटस्थ बसेपछि प्रधानमन्त्री चयन प्रक्रिया निर्णयविहीन बनेको थियो । तेस्रो चरणमा पनि एमाले तटस्थ बसे प्रधानमन्त्री चयन हुने सम्भावना कम छ । माओवादीलाई मधेसी मोर्चाले समर्थन नगरेको अवस्थामा एमालेको मत बिना कुनै पनि दलको बहुमत पुग्दैन । स्रोतका अनुसार ओली पक्षका केही केन्द्रीय सदस्यहरूले बैठक बोलाएर प्रधानमन्त्री चुनावको समीक्षा र नयाँ भूमिकाबारे छलफल गर्न दबाब दिन थालेका छन् तर अध्यक्ष खनाल राष्ट्रिय सहमति नबनुन्जेल निर्णय पुनर्विचार गर्न नहुने अडानमा छन् । उनी १७ गतेअघि बैठक नराख्ने मनस्थितिमा छन् । ‘पटकपटक निर्वाचन हुँदा पनि गतिरोध जारी रह्यो भने सबै दलले आफ्ना अडानमा पुनर्विचार गर्नुपर्छ’ नेपाल निकट एक भने- ‘यो अवस्थामा एमालेले पनि आफ्नो निर्णय पुनर्विचार गर्नुपर्छ ।’ तर खनाल पक्षका एक नेताले राष्ट्रिय सहमतिबिना शान्ति र संविधानको लक्ष्य पूरा नहुने भएकाले प्रधानमन्त्री केही ढिलो भए पनि फरक नपर्ने बताए । ‘मुलुकलाई केही दिन नयाँ प्रधानमन्त्री नभएर केही हुँदैन’ ती नेताले भने- ‘तर राष्ट्रिय सहमति भएन भने प्रधानमन्त्री बने पनि शान्ति र संविधानको लक्ष्य पूरा हुँदैन, त्यस्तो अवस्थामा बुहमतको प्रधानमन्त्री चयनमा किन हतार गर्ने ?’ बहुमतको सरकार छाडेको र झण्डै दुई तिहाइको नजिकमा पुगेर उम्मेदवारी फिर्ता लिएको अवस्थामा कुनै पनि बहुमतीय सरकारका लागि फेरि निर्णय सच्याएर भोट हाल्न नहुने धारणा संस्थापनको छ । उत्ता ओली पक्ष भने माओवादी नागरिक पार्टीमा रूपान्तरिक नहुँदासम्म सहकार्य गर्नै नसकिने भएकाले पुरानै गठबन्धन मजबुत बनाएर अघि बढ्न बाधक बन्न नहुने धारणा राख्छ । माओवादीलाई हेर्ने दृष्टिकोणमा पनि पार्टीभित्रको विवाद छ । नेता केपी ओलीले शानिबार एक कार्यक्रममा माओवादी अझै आतंककारी क्रियाकालापमै रहेको टिप्पणी गरेका थिए । उनी उग्रवामपन्थी सोच रहुन्जेल उससँगको सहकार्य घातक हुने धारणा राख्छन् तर संस्थापन पक्ष माओवादी धेरै सुधारिएकाले उसको समर्थनबिना शान्ति र संविधान पूरा नहुने यथार्थ बुझेर सहकार्य गर्नुपर्ने पक्षमा छ । नयाँ परिस्थितिमा संसदको नियमावली संशोधन गरेर भए पनि फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने धारणाप्रति पनि एमालेभित्र एकमत छैन । संस्थापन पक्षले दुई उम्मेदवारबीच मात्र बुहमत नल्याएसम्म भइराख्ने चुनाव प्रक्रियालमा संशोधन गरेर नयाँ व्यवस्था गर्नुपर्ने माग राखेको छ । नियमावली संशोधन हुँदा पुनः एमाले पनि चुनावी मैदानमा प्रवेश गर्ने वातावरण बन्न सक्छ । तर, ओली पक्षका नेताहरू नियमावली संशोधनबाट मात्र राष्ट्रिय सहमति बनिहाल्ने ग्यारेन्टी नहुने बताउँछन् । त्यसैले उनीहरूले संस्थापन पक्षबाट उठेको मागलाई चासो दिएका छैनन् । ‘माओवादी रूपान्तरण नहुन्जेलसम्म सबै एक ठाउँमा उभिने सम्भावना कम हुन्छ’ ओली निटक नेताले भने- ‘नियमावलीले मात्र एक ठाउँमा ल्याउने हो र ? शान्ति प्रक्रियाका विषयमा पो प्रतिबद्घ हुनुपर्‍यो ।’  त्यसो त, माओवादी भित्रको बाबुराम भट्टराइ पक्षलेसमेत नियमावली संशोधन गर्ने धारणा बाहिर ल्याएपछि एमालेको संस्थापन पक्षलाई त्यो माग अघि सार्न बल मिलेको छ ।

source: kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s