प्रधानमन्त्री चयन / नियमावली संशोधन हुन सक्दैनः सभामुख


काठमाडौं, श्रावण १० – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले माओवादी र कांग्रेसका प्रधानमन्त्री उम्मेदवार चुनावी प्रक्रियामै भएकाले संविधानसभा नियमावली संशोधन हुन नसक्ने बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा आइतबार सञ्चारकर्मीसित नेम्वाङले नियमावली अनुसार माओवादी र कांग्रेस १७ गते जित्छौं भनेर लागिरहेको उल्लेख गर्दै तत्काल संशोधन गर्न नमिल्ने बताएका हुन् । दुई चरणमा प्रधानमन्त्रीको टुंगो नलागेपछि एमाले नेताहरूले नियमावली संशोधन गरी निकास निकाल्न माग गर्दै आएका छन् । ‘१७ गते पनि प्रधानमन्त्री चयन नभए दलहरूलाई सहमति गर्न दबाब पर्छ,’ सभामुख नेम्वाङले भने, ‘त्यतिबेला दलहरूले सहमतिको आधार तय गरेर अघि बढ्न सक्छन् ।’ फिर्ता लिने समयसमेत गुजि्रसकेकाले अब उम्मेदवारी फिर्ता लिन नमिल्ने उनको तर्क थियो । ‘उम्मेदवारी फिर्ता लिने चरण पार गरिसक्यौं,’ उनले भने, ‘नियमले त प्रधानमन्त्री चयन नभएसम्म पराजित प्रस्तावमै मतदान गर्न भन्छ ।’ प्रधानमन्त्रीको मतदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता रामचन्द्र पौडेलले बहुमत हासिल गर्न सकेका छैनन् । प्रधानमन्त्रीका लागि ५ र ७ असारमा व्यवस्थापिका संसद्मा मतदान भएको थियो । संविधानसभा नियमावलीअनुसार चुनाव प्रक्रियामा जाँदा एकै पटकमा प्रधानमन्त्रीको चयन हुन नसक्नेबारे आफूले दलहरूलाई पहिलो चुनावअघि नै स्पष्ट पारे पनि उनीहरूले त्यतिबेला ‘बेवास्ता गरेको’ नेम्वाङको टिप्पणी थियो । प्रधानमन्त्रीको पहिलो मतदानअघि दलका सचेतकहरूसँग भएको छलफलमा संविधानसभा नियमावलीमा भएको व्यवस्था र प्रक्रियाबारे ध्यानाकर्षण गराए पनि त्यतिबेला दलहरूले त्यति चासो नदिएको गुनासो उनले गरे । नियमावलीमा प्रधानमन्त्री चयन नभएसम्म पराजित प्रस्तावमै मतदान गर्ने व्यवस्थाबारे दलहरू सचेत भए पनि यतिबेला व्यावहारिक समस्या परेकाले नियमावली संशोधनको प्रसंग उठेको नेम्वाङको बुझाइ छ । ‘त्यतिबेला दलहरूलाई नियमावलीले छोएन,’ उनले भने, ‘आफूलाई छोएपछि मात्रै सोच्ने हाम्रो बानी छ ।’ त्यतिबेलाको छलफलमा एकै पटकको मतदानबाट प्रधानमन्त्रीको चयन हुन नसक्ने र चयन नभएसम्म प्रक्रिया दोहोरिरहनेबारे छलफल भएको उनले बताए ।

source; kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s