औषधीपसलको भाडा मासिक ९ लाख


काठमाडौं साउन १९- वीर अस्पतालबाहिर जुसपसल थापेका ललन चौधरीले मासिक १२ हजार रुपैयाँ भाडा तिर्छन्। छेवैको उत्रै सटरमा माओवादीनिकट जनस्वास्थ्य सहकारी संस्थाको औषधीपसल छ जसको मासिक भाडा छ, ४ लाख ३१ हजार रुपैयाँ। अस्पताल स्वामित्वमा रहेका यी दुई सटरभन्दा केही ठूलो क्षेत्रफलमा वीर हाताभित्र सहकारीकै अर्को औषधीपसल छ जसको मासिक भाडा छ, ९ लाख ३२ हजार रुपैयाँ।

किन तिर्छन् यी औषधीपसलेले जुसपसलभन्दा दसौं गुना चर्को भाडा? ‘ठूला अस्पताल वरिपरिका औषधी पसलबाट कुस्त आम्दानी हुन्छ, उनीहरूले बाहिरभन्दा धेरै महँगो दरमा औषधी बेच्छन्,’ वीर अस्पताल स्रोतले भन्यो। वीर अस्पतालमा औषधीपसल चलाएको सहकारी संस्थाका सचिव नारायण ढकाल पनि उपभोक्तालाई महँगो दरमा औषधी बेचेरै चर्को भाडा असुल्ने स्वीकार गर्छन्। ‘कम्पनीले २/३ रुपैयाँमा बेच्ने औषधी वीर अस्पतालवरिपरि १० रुपैयाँसम्म पर्छ,’ उनले नागरिकसँग भने, ‘धेरै औषधी बेचेपछि हामीलाई उत्पादकले पनि बढी कमिसन दिन्छन्।’ सहकारीले वीरहातामा चलाएको औषधीपसलले वार्षिक ६ करोड व्यापार गर्ने उनले बताए।

नेपाल औषधी उत्पादक संघका अध्यक्ष उमेशलाल श्रेष्ठ पनि सानो सटरको महँगो भाडाले उपभोक्तालाई नै मार पर्ने बताउँछन्। ‘यति सानो ठाउँको भाडा यति महँगो नेपालमै मात्र होला,’ श्रेष्ठले भने, ‘यसको सीधै मार उपभोक्तालाई पर्छ।’ अस्पताल भित्र र बाहिर गरेर वीरका १६ सटर छन् जसमध्ये ७ वटामा औषधीपसल। औषधीपसल भएका सटरको मासिक भाडा १ लाख ९ हजारदेखि ९ लाख ३२ हजारसम्म छ जबकि अन्य पसलको मासिक भाडा औसत २५ हजार छ। भित्रको सटरलाई अघिल्लो वर्षसम्म सहकारीले ६ लाख १० हजार भाडा तिरेको थियो। यो वर्ष त्यही सटरको टेन्डर पार्न उसले ३ लाख २२ हजार बढी तिर्‍यो। दोस्रो ठूलो त्रिवि शिक्षण अस्पताल हाताभित्र रहेका चारवटै सटर एकैजनाले भाडामा लिएका छन्- बद्री श्रेष्ठ। यीमध्ये एउटा सटरमा उनले औषधीपसल चलाएका छन् जसको क्षेत्रफल वीरको औषधीपसलभन्दा दोब्बर छ। तर, उनले यी चारै सटरको भाडावापत अस्पताललाई मासिक ४ लाख ७५ हजार रुपैयाँ तिर्छन्।

चार वर्षअघि एक वर्षका लागि टेन्डरमार्फत भाडामा दिइएकोमा अहिलेसम्म नवीकरण भएको छैन। अस्पताल स्रोतका अनुसार प्रत्येक वर्ष प्रक्रिया भए पनि नवीकरणमा चत्रे्क मिलन समूहले अवरोध सिर्जना गर्छ। ‘धम्की सहेरै हामी नवीकरण प्रक्रिया गर्छौं, तर त्रिभुवन विश्वविद्यालयमा पुगेर रोकिन्छ,’ अस्पताल स्रोतले भन्यो, ‘ती औषधीपसलेले अस्पताललाई तिर्ने जत्तिकै रकम मासिक चत्रे्क मिलन समूहलाई बुझाउँदा रहेछन्।’ शिक्षण अस्पतालका निर्देशक डा.केशव सिंहले यो वर्ष नवीकरण प्रक्रिया थाल्न दुई महिनाअघि नै त्रिविमा लेखिपठाए पनि हालसम्म स्वीकृति नपाएको बताए। ‘अस्पतालले प्रक्रिया थालेजस्तो गर्छ, विश्वविद्यालयले रोक्छ तर त्रास सबैतिर छ,’ अस्पताल स्रोतले भन्यो। अन्य ठूला अस्पतालको हाल पनि यी दुईभन्दा फरक छैनन्। प्रसुतिगृहभित्रको औषधीपसलको मासिक भाडा ५ लाख २९ हजार रुपैयाँ छ, कान्तिको ५ लाख। ओम अस्पतालभित्रको औषधीपसलले ६ लाख तिर्छ भने मेडिकेयरमा ३ लाख ७० हजार। अधिकांश अस्पतालमा सम्झौता भएपछि एकैपटक तीन महिनादेखि १ वर्षसम्मको भाडा एकमुष्ट बुझाउनुपर्छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. लक्ष्मीराज पाठकले यो विषय सरकारको ध्यानमै नपरेको बताए। ‘हामीले हेरेकै छैनौं,’ उनले नागरिकसँग भने। संघका अध्यक्ष श्रेष्ठले भने आफूहरूले यससम्बन्धमा विभिन्न अस्पताल क्षेत्रका भाडादरसहित ध्यानाकर्षण गराएको तर मन्त्रालयले पहल नगरेको बताए। ‘यो भाडादर एकदमै बढी हो, व्यापारीले त पैसा तिरेपछि उठाउन खोज्छ। त्यत्ति भाडा उठाउन उपभोक्तालाई नै ठग्ने हो,’ उनले भने, ‘कम्तीमा सरकारी स्वामित्वका अस्पतालबाट त यो प्रवृति हटाउनुपर्‍यो!’ सरकारी नीतिअनुसार अन्तरंग सेवा सञ्चालन हुने अस्पतालको आफ्नै फार्मेसी हुनुपर्छ। पाटन, सहिद गंगालाल, मोडल, धुलिखेल, बिएण्डबी, नर्भिक, निजामति कर्मचारीलगायतका अस्पतालले आफ्नै फार्मेसी चलाएका छन्।

गंगालालको फार्मेसीले गत वर्ष २१ करोडको व्यापार गर्‍यो जसमा ३ करोड ८८ लाख रुपैयाँ नाफा भयो। गंगालालमा दैनिक २ सय बिरामी आउँछन् भने वीरमा १ हजार ५ सय। ‘सरकारी नियमअनुसार एउटा रोगका लागि एउटाभन्दा बढी ब्रान्ड राख्न पाइँदैन, जसले गर्दा बिरामीले खोजेका सबै औषधी पाउँदैनन्,’ गंगालालका निर्देशक डा.अरूण मास्केले भने, ‘औषधीपसल अस्पतालले चलाउँदा बिरामीलाई सुविधा पनि हुन्छ, अस्पताललाई आम्दानी पनि, त्यो रकम सेवामै लगाउन सकिन्छ।’ पाटनका फार्मेसी इन्चार्ज राजकुमार थापाले पनि औषधी व्यापार अस्पतालको मुख्य आम्दानी स्रोत भएको बताए। उनले अस्पतालभित्रको विशेष समितिको स्वीकृतिका आधारमा डब्लुएचओ जिएमपीप्राप्त कम्पनीका औषधीमात्रै बिक्री गर्ने बताए।

औषधीसम्बन्धी ऐनले औषधी किनेभन्दा १६ प्रतिशतभन्दा बढी मूल्यमा बेच्न पाइने सुविधा दिएको छ। औषधी बिक्रेता संघका अध्यक्ष पारसमणि बरालले सामान्यतयाः गुणस्तरीय कम्पनीले पनि २० प्रतिशत कमिसन दिने बताए। यो आधारमा बिक्रेताले ३६ प्रतिशत वैधानिकजस्तै नाफा कमाउँछन्। सहकारीका ढकालका धेरै बेच्न सकिने औषधीका उत्पादकले कतिपय उत्पादनमा ४ सय प्रतिशतसम्म कमिसन दिन्छन्। सामान्यतयाः अस्पतालका फार्मेसीमा औषधी बिक्री गर्नुपूर्व अस्पतालभित्र ड्रग एन्ड थेरापिटिक कमिटी बनाउनुपर्छ जसले सिफारिस गरेका औषधीमात्रै बेच्न पाइन्छ। तर, महँगो भाडा तिर्नेहरू बढी कमिसन आउने कम्पनीको औषधीमात्र बेच्छन्। वीर अस्पताल स्रोत भन्छ, ‘यस्ता पसलेले डाक्टरको बानी पनि बिगार्छन्, बढी कमिसनमा ल्याएको औषधी लेखाउन लगाउँछन् र उनीहरूलाई पनि कमिसन दिन्छन्।’

सहकारीका ढकालले औषधी व्यापारमा भएको यो अनियमितता रोक्न संगठित भएको बताए। उनले सहुलियत दरका औषधीपसल उपत्यकामा ७० र प्रत्येक जिल्लामा कम्तीमा एउटा खोल्ने सहकारीको योजना सुनाए। ‘खुल्ला बजार अर्थनीतिको बेफाइदाले हामी सबैभन्दा महँगो भाडा तिर्न बाध्य छौं,’ उनले भने।

कहाँ कति भाडा? (मासिक)

वीर ९ लाख ३२ हजार
टिचिङ ४ लाख ७५ हजार
प्रसुतिगृह ५ लाख २९ हजार
कान्ति ५ लाख
टेकु ७ हजार
ओम ६ लाख
मेडिकेयर ३ लाख ७५ हजार

आफ्नै फार्मेसी भएका अस्पताल

पाटन
गंगालाल
बिएन्डबी
नर्भिक
मोडल
धुलिखेल
निजामती कर्मचारी अस्पताल

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s