को होला नयाँ प्रधानमन्त्री?


काठमाडौं, साउन २१ – मधेसी मोर्चा शुक्रबारको निर्वाचनमा पनि तटस्थ बस्ने सम्भावना बढेपछि चौथो चरण पनि प्रधानमन्त्री चयन गर्न असमर्थ हुने सम्भावना बनेको छ। फोरम र फोरम लोकतान्त्रिकका बिहीबारका संसदीय दल बैठकले मोर्चाको निर्णयअनुसार चल्ने निचोड निकाले।

फोरमको सात घण्टा लामो बैठकले बिहीबार मोर्चाको निर्णय मान्य हुने र फ्लोर क्रस नगर्ने प्रतिवद्वता व्यक्त गरेको छ। फोरम लोकतान्त्रिक अनौपचारिक बैठकले पनि मोर्चाको निर्णय सर्वोपरि हुने निष्कर्ष निकालेको छ। तमलोपा माओवादीसँगको सहकार्यको पक्षमा नरहेको र दुवै फोरम पनि माओवादीलाई सघाउन तत्पर देखिएका छैनन्। चौथो घटक सद्भावना पार्टी पनि मोर्चा एकजुट रहनुपर्नेमा अडिग देखिएकाले अघिल्ला चरणमा जस्तै परिणाम आउने अनुमान बढेको हो।

‘अहिलेसम्म भोट हाल्ने स्थिति बनिसकेको छैन,’ बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘मोर्चाको बैठकले शुक्रबार जे निर्णय लिन्छ त्यही हुन्छ।’
माओवादीस”ग सहकार्यका लागि आतुर फोरमका सभासद्ले तेस्रो चरणको निर्वाचन जस्तो फ्लोर क्रस नगर्ने बताएका छन्। ‘हामी मोर्चा र पार्टीको निर्णय अनुसार मत दिन्छौ,’ अघिल्लो निर्वाचनमा माओवादीलाई मत दिने मध्येकी अगुवा रेणु यादवले भनिन्, ‘भावावेशमा आएर पहिलेजस्तो गल्ती गर्दैनौं।’

यादव मात्र हैन १७ साउनमा फ्लोरक्रस गर्ने ११ जना सभासदले नै अध्यक्ष यादवलाई निर्णय गर्ने जिम्मेवारी दिदै मोर्चाको निर्णय स्विकार्ने बताएका छन्। शुक्रबारको बैठकमा काग्रेसले मधेसबारे बुझाएको अवधारणा लगायतमा छलफल गरेपछि मोर्चा तटस्थ बस्ने औपचारिक निर्णय हुने मधेसी नेताले बताएका छन्।

उपप्रधानमन्त्री बिजय गच्छदार नेतृत्वको फोरममा माओवादीसँग सहकार्यबारे आपसमा स्पष्ट विभाजन छ। मोर्चाका नेता महन्थ ठाकुर नेतृत्व तमलोपा माओवादी नेतृत्वको सरकारको पक्षमा नरहेकाले शुक्रबार मोर्चाले तटस्थताको नीति लिने संभावना बलियो छ।

मधेसवादी दलहरू मोर्चाको निर्णय अनुसार अघि बढ्ने जानकारी दिँदै ठाकुरले नागरिकसँग भने, ‘अहिलेको सबैभन्दा ठूलो मुद्दा शान्ति प्रक्रियासँग सम्बन्धित छ।’

फोरम अध्यक्ष उपेन्द्र यादवले यसअघि पाँचौं चरणको चुनावसम्ममा तटस्थताको राजनीति अन्त्य हुने बताउँदै आए पनि बिहीबारदेखि राजनीतिक वातावरण बदलिएको सभासदहरूले बताएका छन्। विद्रोहीहरू समेत पार्टी निर्णय स्विकार्न तयार भएकाले मोर्चा एक हुञ्जेल माओवादी नेतृत्वका सरकार बन्न नसक्ने फोरमका सभासद् बीपी यादवले बताए। उनले अहिले मोर्चा अझै बलियो बनेको बताए।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरी शुक्रबारको निर्वाचनपछि मुलुक सहमतिको राजनीतिक बाटोमा जाने विश्वास व्यक्त गरेका छन्। ‘भोलि मोर्चा तटस्थ बस्ने संभावना देखिरहेको छु,’ उनले भने, ‘२१ साउनपछि मुलुक सहमतिको बाटोमा जान्छ।’

फोरम लोकतान्त्रिकभित्र माओवादीलाई सघाउनुपर्छ भन्दै पार्टीमा लविङ गर्दै आएका प्रमोदप्रसाद गुप्ताले यो चरणमा तटस्थ बस्नुपर्ने अवस्था आएको बताएका छन्। ‘तमलोपा आफ्नै अडानमा छ, मोर्चाबाट माओवादीलाई मत दिने निर्णय हुन सम्भव देख्दिन,’ गुप्ताले भने।

गुप्ताका अगुवाइमा फोरमका आधा दर्जन सभासद् माओवादीलाई सघाएर सरकारमा जानुपर्ने दवाव दिए पनि उनीहरूले नेतृत्वलाई मनाउन सकेनन्। बिहिबार बिहान गुप्ता समूहले गच्छदारसँग लामो छलफल गरेको थियो।

‘मधेस मुद्दामा माओवादी नजिक देखिएकाले सहकार्य गरौं भन्ने प्रस्ताव गरेका हौ,’ गुप्ताले भने, ‘तर मोर्चाको निर्णय नभई एउटा पार्टीमात्र माओवादीस”ग नजाने भन्नेमा हामी सहमत भयौं।’

माओवादीसँग सहकार्यको पक्षमा रहेका लोकतान्त्रीक फोरमका सभासद् र फोरमको निर्णयले प्रभावित गर्ने भन्दै चासोको साथ प्रतिक्षारत थिए। उपेन्द्रको दलले मोर्चाको निर्णयबाट दायाँ बायाँ नगर्ने निर्णय लिए लगत्तै माओवादीस”ग मिल्नुपर्छ भन्ने गच्छदारका सभासद् आफै मौन भएका थिए।

नेपाल सदभावना पार्टी उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि मोर्चा तटस्थै रहने बताए। ‘मोर्चा तटस्थ बस्नुपर्ने पक्षमा छ, भित्री खेलबारे भन्न सक्ने अवस्था छैन,’ उनले भने।

फोरमका केही सभासद्ले श्याम शरणको भ्रमणले पनि मोर्चाको कुनै पनि घटकबाट माओवादीलाई मत जाने सम्भावना टरेको विश्लेषण गरेका छन्। फोरम सचेतक अभिषेकप्रताप शाह आफूहरूले फ्लोर क्रस गरेकै कारण भारतले श्याम शरणलाई विशेष दूत बनाएर पठाएको दावी गरे।

फोरम लोकतान्त्रिक संसदीय दल वैठक चलिरहेको बेला युवा कार्यकर्ताले दलकै कार्यालयमा भेला गरी सभासद्हरूलाई फ्लोर क्रस नगर्न चेतावनी दिए।
मधेसी युवा फोरम (लोकतान्त्रिक) केन्द्रीय समिति बैठकले मोर्चा र पार्टी निर्णय बिपरित सभासद्ले कुनै कार्य गरे कारबाही गर्ने घोषणा गरेको छ।

‘मधेसी मोर्चा र संसदीय दलको निर्णय मानी मतदानमा भाग लिन हार्दिक आग्रह गर्छौं,’ वरिष्ठ उपाध्यक्ष केशवकुमार झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उपेन्द्रको दल जस्तै लोकतान्त्रिकका सभासद्ले पनि फ्लोर क्रसको सम्भावना रहेको आशंकामा युवाहरूले वक्तव्य निकालेका हुन्।

फोरममा फ्लोर क्रस विवाद

१७ साउनको प्रधानमन्त्री निर्वाचनमा फ्लोर क्रस गर्ने फोरमका ११ सभासदको मुद्दा संसदीय दल बैठकमा प्रमुखरुपमा उठ्यो। बैठक लामो समय त्यसैमा केन्द्रित रह्यो। फ्लोरक्रस गर्ने सभासदहरूको हातमा स्पष्टीकरणको पत्र थमाएर सुरू भएको दलको बैठकमा बिद्रोहीहरूले भावावेशमा आएर फ्लोरक्रस गरेको मौखिक स्पष्टीकरण दिए। उनीहरूले आफूमाथि लागेको आर्थिक लेनदेनको आरोपको प्रतिवाद गरे।

सभासद आत्मारामप्रसाद साहले भने, ‘हामीमाथिको लेनदेनको आरोपकाबारे हामीले सोध्यौं।’

फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता लगायतका नेताहरूले फ्लोर क्रस गर्नेहरूलाई पैसामा बिकेको आरोप लगाउँदै आएका थिए। दलको बैठकमा गुप्ता भने लामो समय बसेनन्। उनी पार्टीको तर्फबाट काग्रेस, एमाले लगायतका दलसँगको वार्तामा खटिए।

अध्यक्ष उपेन्द्र यादवले फ्लोर क्रस गर्ने सभासदहरू लेनदेनमा नफसेको बताए। यादवले भने ‘फ्लोर क्रस गर्नेहरूका बारेमा बजारमा फैलाएको जस्तो अफवाह जस्तो देखिएन। छानविन गर्दा आरोप गलत पाइयो।’ यादवले सभासदहरूले भावावेशमा आएर फ्लोर क्रस गरेको बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s