गरिबीका कारण सामूहिक आत्महत्या


डीआर पन्त/डडेलधुरा, श्रावण ३१ – बझाङको लेकगाउँ गाविस खोरी गाउँकी एक महिलाले ‘गरिबीका कारण’ आफ्ना दुई सन्तानसहित खोलामा हाम फालेर आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको अत्यन्त दुर्गम खोरी गाउकी ३५ वर्षीय सञ्जुदेवी पुजाराले आफ्ना दुई सन्तान सात वर्षीय हिमाल र पाँच वर्षीय सर्वे सहित स्थानीय माटेखोलामा राति हाम फालेर सामूहिक आत्महत्या गरेकी हुन् । 

यसअघि उनले दुईपटक सामूहिक आत्महत्याकै प्रयास गरे पनि गाउँलेका कारण विफल भएको थियो । ‘श्रीमान्ले दोस्रो बिहे गरे । केही समय त उनले आफन्तहरूसँग मागेर सन्तान पालिन्,’ स्थानीय समाजसेवी देवबहादुर पुजाराले टेलिफोनमा भने, ‘तर कुनै उपाय नचलेपछि शुक्रबार दुवै छोरा र आफूलाई घरमा बन्द गरेर आगो लगाइन् तर गाउँलले आगो निभाएर बचाएका हुन् ।’ ‘एक्कासि राति फेरि आत्महत्या गरेकी रहिछिन्,’ अर्का स्थानीय जयबहादुर पुजाराले भने ।

प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काले कमाउनका लागि जग्गा जमिन नभएको र श्रीमान् रमेशले अर्को बिहे गरेपछि बालबच्चा र आफ्नो कुनै मतलब नराखेकाले उनले आत्महत्या गरेको हुनसक्ने बताए । ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि यही देखिएको छ,’ खड्काले टेलिफोनमा कान्तिपुरसँग भने ।

बिहान झन्डै चार किलोमिटर तल खोलामा लास देखिएपछि प्रहरीलाई गाउँलेले खबर गरेका थिए । श्रीमान् रमेश भने अहिलेसम्म सम्पर्कमा नआएको स्थानीयले बताए । उनी अर्की श्रीमतीसँग अलग्गै बस्दै आएका छन् । सदरमुकामदेखि एक दिन पैदल हिँडेर पुगिने उक्त गाउँबाट पोस्टमार्टमका लागि शव ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

स्थानीय जयबहादुर पुजाराका अनुसार सञ्जुदेवी एक साताअघि पनि सामूहिक आत्महत्या गर्न नजिकैको भोगले भीरमा गएकी थिइन् । स्थानीय ग्वालाहरूले देखेपछि उनलाई सम्झाएर फर्काएको उनले बताए । तेस्रो पटक भने उन्ले आत्महत्याका लागि रातको समय चुनिन् ।

गरिबीकै कारण बझाङमा सामूहिक आत्महत्या भएको यो तेस्रो पटक हो । तर बाहिर नआएका अरू घटना पनि हुनसक्ने प्रहरीले बताएको छ । यसअघि केहीअघि मात्र बझाङको हिमाली क्षेत्रका एक महिलाले तीन सन्तानसहित आत्महत्या गरेकी थिइन् ।

साभार : ई-कान्तिपुर

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s