यी लाइभ परर्फमर


स्मिता मगर –  काठमाडौ, श्रावण ३१ –  ‘म प्लेब्याक सिंगर बन्न चाहन्नँ,’ नेपाली सांगीतिक क्षेत्रकी ‘रक डिभा’ ले सुरुमै भनिन्, ‘अन्तर्राष्ट्रिय स्तरको लाइभ परर्फमर बन्ने धोको छ ।’ मादकतापूर्ण स्वर र जोडदार स्टेज परफर्मेन्सका लागि रुचाइने अभया सुब्बालाई ट्रयाकमा गाउनु भनेको ‘पिंजडामा बाँधिनुसरह’ हो । ‘गीतसंगीत भनेको स्वतन्त्रता हो,’ हालैको भेटमा उनले उल्टै प्रश्न गरिन्, ‘ट्रयाकमा गाउँदा त्यो स्वतन्त्रता कहाँ पाइन्छ र ?’ सायद त्यसैले उनी पाश्र्वगायिका बन्न चाहन्नन् ।

उनी आफ्नै रक ब्यान्ड ‘अभया एन्ड द स्टिम इन्जुन्स’ का लागि नयाँ एल्बमको तयारीमा छिन् । त्यसैले ‘सास फेर्ने पनि त्यति फुर्सद छैन ।’ आउने अक्टोबरतिर बजारमा आउने ब्यान्डको तेस्रो एल्बम पूरै रक फ्लेभरको हुनेछ । ‘रकिङ एल्बम बनाउ“m भनेको नि,’ यति भनिसक्दा ठमेलस्थित निवासको लिभिङ रुममा गायिकाको हाँसो गुन्जियो ।

अंग्रेजीमा बात मार्न सहज अनुभव गर्ने अभयाले गायकीको निरन्तरता र श्रोताबाट ओझेल नहोइयोस् भन्नका लागि एल्बम निकाल्ने हतार गरेको बताइन् । अघिल्ला एल्बम ‘अभया एन्ड द स्टिम इन्जन्स’ र ‘नयन’ बाट क्षमता देखाइसकेकी उनका अनुसार तेस्रो एल्बमबाट पनि श्रोताले त्यही रक मस्ती पाउनेछन् । ‘वी आर जस्ट ह्याभिङ फन,’ उनको अनुहार फेरि चम्कियो ।

म्युजिकमा विधाभन्दा पनि ‘राम्रो म्युजिक र नराम्रो म्युजिक’ बीच भिन्नता देख्ने अभयालाई कहिलेकाहीं आफू ‘गायिका नभएजस्तो’ लाग्छ । ‘गायिकाले धेरै सम्झौता गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘पैसाका लागि गाउने हो भने सम्झौता गर्नैपर्ने हुन्छ ।’ नेपालमा प्रतिभा भएर मात्र नहुने र पैसा पनि चाहिने उनले राम्ररी बुझेकी छन् । त्यसैले, आर्थिक समस्या नभएकाले उनले कसैसँग सम्झौता गर्नुपरेको छैन । आर्थिक र भावनात्मक रूपले सुरक्षित अनुभव दिँदै कलात्मक स्वतन्त्रताको वातावरण बनाइदिएकोमा उनी जर्मन पति काइ वाइजप्रति आभारी बनिन् ।

सांगीतिक अन्तर्राष्ट्रियताको सपना उनले यही कारण देख्न थालेकी हुन् । त्यो सपनातिर लम्कन उनी अंग्रेजी एल्बमको तयारी पनि गरिरहेकी छन् । ‘हाम्रो गीत संसारलाई सुनाउनुपर्‍यो नि,’ ‘आई उड डु एनिथिङ…’, ‘हियर आई कम…’ जस्ता चर्चित अंग्रेजी गीतकी गायिकाले भनिन् ।

ब्यान्ड खोल्नुअघि अंग्रेजीबाहेक अन्य भाषाका गीत निकै कम गाउने अभयालाई नेपालीमा गीत गाउन ‘रबिन एन्ड न्यु रेभोलुसन’ का रबिन तामाङले हौस्याएका थिए । त्यो उत्साह कति सुखद् रह्यो भने श्रोताहरूले ‘तिम्रो लागि सारा संसार…’, ‘सपना र कर्तव्य’, ‘सुन सुन सुन…’, ‘काठमान्डु’ जस्ता लोकपि्रय गीत पाए । ‘उहाँ त मेरो गुरु जस्तो हो नि,’ अभया रबिनप्रति पनि कृतज्ञ बनिन् । उनलाई मन पर्ने अर्का नेपाली गायक हुन् सबिन राई ।

संगीतकर्मीले आफ्ना कामका लागि त्यससम्बद्ध उपकरण प्रयोग गर्नैपर्छ तर उनलाई प्रविधिले संगीतलाई पुर्‍याइरहेको असर देख्दा नरमाइलो लाग्छ । युवाले कानमा हेडफोन घुसाएर संगीत सुनिरहेको देख्दा उनी चुकचुकाउँछिन् । गीत सुन्नुको असली आनन्द समूहमा सुन्दा पाइने उल्लेख गर्दै उनले भनिन्, ‘दुर्भाग्य मान्नुपर्छ, आजकल म्युजिक लोनली अफेयर बनेको छ ।’

प्रविधि प्रसंगले पाइरेसीको कुरो उक्कायो । रक गायिका गम्भीर बनिन् । ‘स्टप पाइरेसी भनेर केही हँुदैन,’ उनी झोंक्किए जस्ती भइन् । पाइरेसी र प्रविधिले म्युजिक इन्डस्ट्रीको खाने बाटो चट्टै काटिदिएको भन्दै उनले थपिन्, ‘अब जसले राम्रो गाउँछ त्यो मात्र बाँच्नेछ । आफू फ्यान्टास्टिक हुनुपर्छ, ताकि तपाईंलाई हेर्न मान्छे आऊन् ।’

रुचि लाइभ परफर्मेन्स भए पनि उनको अनुभवले भन्छ- साउन्ड टेक्निसियनको कमी, नमिलेको स्टेज र लाइटले नेपालमा लाइभ परर्फमरका लागि ठूलो चुनौती छ । अनुशासनहीन श्रोता/दर्शकबाट अपमान भोग्नुपर्ने अवस्था छ । पानीका बोतल, ढुंगा, पत्रिका स्टेजतिर फ्याँक्ने जमातले उनलाई वाक्क बनाउँछ । ‘कला, संगीत र संस्कृतिको सम्मान हुने ठाउँमा सानो व्यवहारले पनि समय र सभ्यताको झल्को दिन्छ,’ उनले भनिन् ।

श्रोताहरूको अनुशासनहीन व्यवहारको तीतो सत्य उनको अनुहारमा निकै समय देखिइरह्यो । ‘हामीले प्रशंसा पाउन मृत्यु नै पर्खिनुपर्ने अवस्था छ यहाँ,’ उनले सुस्केरा हालिन् ।

अब फेरि उत्साहका कुरा । तेस्रो एल्बममा कुनै सम्झौता नगर्ने बताएकी अभयाले त्यसको नाम राखिसकेकी छैनन् । त्यसमा ‘अन्तिम पत्र…’ र ‘दिउँला जोबन तिमीलाई’ जस्ता चर्चित गीतको रिमेक समावेश गरिनेछ । गीतहरू लाइभ परफर्मेन्सका लागि उपयुक्त हुने गरी बनाइँदै छन् र धेरैजसो गीत अभयाकै हुनेछन् ।

Source: eKantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s