माओवादी र एमाले पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव


काठमाडौं, भदौ २ – एकीकृत माओवादीले पालैपालो प्रधानमन्त्री बन्ने चक्रीय प्रणालीको प्रस्ताव नेकपा (एमाले)सँग राखेको छ। माओवादी र एमालेबीच मात्र पालो बाँध्ने प्रस्ताव सार्वजनिक गर्दै माओवादी नेता देव गुरूङले भने, ‘विचार र नीति नमिल्ने हुनाले नेपाली कांग्रेसलाई भने हामी नेतृत्वमा स्वीकार गर्न सक्दैनौं।’ माओवादीले चक्रीय प्रणालीको प्रस्ताव साउन २७ गते एमालेसँग वार्तामा गरेको थियो। एमाले अध्यक्ष झलनाथ खनाल निकटस्थ केन्द्रीय सदस्य घनश्याम भुषालका अनुसार उक्त दिनको दुईदलीय बैठकमा पनि माओवादीले एमालेसमक्ष चक्रीय प्रणालीको प्रस्ताव गरेको थियो। ‘हामी कांग्रेसलाई बाहिर राख्न चाहदैनौं, राखेर समस्या समाधान सम्भव छैन’, एमालेको जवाफ उद्धृत गर्दै उनले भने, ‘कसरी जाने भन्ने प्रमुख दलहरुबीचको सहमतिका आधारमा तय गर्ने हो।’  माओवादी नेता देव गुरूङले अहिले देखिएको राजनीतिक गतिरोधको गाँठो फुकाउन एमालेलाई समर्थन गर्ने प्रस्ताव गरेको बताए। ‘राष्ट्रिय सहमतिको आधार दुई तिहाइ बहुमत भएकाले हामीले एमाले अध्यक्ष झलनाथजीलाई समर्थन गरेकै हौं,’ उनले भने, ‘एमालेको आन्तरिक कारण उहाँले उम्मेदवारी फिर्ता लिएपछि मात्रै हामीले उम्मेदवारी दिएका हौं।’  एमालेको काग्रेससँगको गठबन्धनमा दुई तिहाइ नहुने भएकाले माओवादीलाई समर्थन गर्न आग्रह गरिएको उल्लेख गर्दै गुरूङले थपे, ‘त्यसो गर्दा दुई पार्टीबीच चक्रीय प्रणालीमा समेत जान सकिन्छ भन्ने हाम्रो धारणा हो।’ प्रधानमन्त्रीमा कांग्रेसले उम्मेदवारी फिर्ता लिए निःसर्त एमालेलाई सघाउने दाबी गर्दै उनले भने, ‘नयाँ प्रक्रियामा ठूलो दलको हिसावले हाम्रो दाबी रहन्छ तर एमालेले सहमति जुटाउछ भने विना सर्त सहयोग गर्न लचिलो छौं।’  विचार र नीतिका हिसाबले कांग्रेससहितको चक्रीय प्रणाली भने सम्भव नभएको उनले जिकीर गरे। ‘कांग्रेसको हकमा सम्भव छैन’, उनले भने, ‘किनकि, कांग्रेसको सोच बृहत शान्ति सम्झौताभन्दा पनि पछाडि फर्कने किसिमको छ। पछाडि फर्किने चेतनाले अहिलेको स्थितिलाई प्रतिनिधित्व गर्न सक्दैन।’  बृहत् शान्ति सम्झौताको मर्म र भावना माओवादी लडाकुको समूहगत समायोजन भएको र कांग्रेस त्यसको विरुद्धमा गएको पनि उनले बताए। ‘कांग्रेससँग थुप्रै वैचारिक र सैद्धान्तिक समस्या छ। त्यसैले सहकार्यको रुपमा जान सकिन्छ तर नेतृत्व स्वीकार गर्न सकिँदैन,’ उनले भने, ‘०४७ सालको मानसिकताले अहिलेको परिवर्तनलाई कसरी नेतृत्व दिन सक्छ?’  कांग्रेस मात्र नभएर एमालेकै माधव नेपाल र केपी शर्मा ओली पक्षको नेतृत्वसमेत स्वीकार्य नहुने गुरूङले प्रष्ट गरे। ‘उहाँहरु उल्टो ढंगले कुरा गरिरहनुभएको छ,’ उनले भने, ‘खनाल लोकतान्त्रिक हुनुका साथै परीक्षण नभइसकेका नेता समेत भएकाले एकपटक मौका दिऔं भनेका हौं।’ एमालेको संस्थापन पक्षले भने कुनै एक दललाई अलग गरेर गठवन्धन सम्भव नभएको प्रतिक्रिया दिएको छ। ‘यो उहाँहरुको निजी कुरा हो, हामीसँग कुनै कुराकानी भएको छैन,’ संस्थापन निकट एमाले सचिव युवराज ज्ञवालीले भने, ‘सबै दल मिलेर जानुपर्छ भन्ने एमालेको धारणा हो। कांग्रेस वा माओवादी कुनै एक दललाई अलग राखेर गठवन्धन गर्न सम्भव छैन।’  कांग्रेस नेतृत्वले भने एमालेसँगको भेटघाटमा आफ्नो उम्मेदवारलाई समर्थन नगर्ने हो भने माओवादी मिलेर सरकार बनाए हुन्छ भन्ने प्रतिक्रिया दिइसकेको छ। ‘एमालेले समर्थन नगरिएदिएको रिसमा उहाँहरुले त्यसो भन्नुभएको होला,’ भुषालले भने, ‘तर, त्यो हाम्रो अहिलेको एजेन्डै होइन।’  कांग्रेस र एमाले मिलेर माओवादीविरुद्ध जान र एमाले र माओवादी मिलेर कांग्रेसविरुद्ध जान सम्भव नभएको उनको भनाइ थियो।

source: nagrik

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s