अग्नी एअरको ब्ल्याक बक्स खोज्न तामाङ भाषामा प्रचार


सुशील भट्टराई, काटमाडौं, भदौ १४- दुर्घटनामा परेको अग्नि एयरको जहाजको ‘ब्ल्याक बक्स’ पत्ता लगाउन जाँचबुझ आयोगले स्थानीयलाई तामाङ भाषामा प्रचार प्रसार थालेको छ। दुर्घटनास्थल मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा तामाङ बस्ती छ। भन्नलाई ब्ल्याक बक्स भनिए पनि खासमा यो कालो नभई सुन्तला रंगको हुन्छ। आइतबार आयोगका संयोजक उड्डयन विज्ञ कुमारप्रसाद उपाध्याय चालिसेको नेतृत्वमा दुर्घटनास्थल पुगेको थियो। ‘हामीले स्थानीयलाई ब्ल्याक बक्सको उचाइ, लम्बाइ, रंगलगायत सम्पूर्ण जानकारी गरायौं,’ आयोगका प्रवक्ता सुरेश आचार्यले नागरिकसँग भने, ‘ब्ल्याक बक्सको २५-३० वटा तस्बिर पनि बाँडेका छौं।’ ब्ल्याक बक्स खोजीमा स्थानीय कांग्रेस, एमाले र माओवादीको संयन्त्र समेत बनाइएको छ। अग्निको ९एन एएचई डोर्नियर जहाज दुर्घटना भएको छैटौं दिनसम्म पनि ब्ल्याक बक्स फेला नपरेपछि आयोगले भेट्टाउनेलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरिसकेको छ। ‘ब्ल्याक बक्स भेट्टाएर ल्याउनेलाई दुर्घटनास्थलमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) को सिफारिसपछि नगद पुरस्कार दिइनेछ,’ प्रवक्ता आचार्यले भने, ‘ककपिट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडिआर) दुवै भेट्टाउनेलाई ५० हजार र एउटामात्र भेट्टाउनेलाई २५ हजार नगद पुरस्कार दिन्छौं।’ एमालेको मकवानपुर जिल्ला कमिटी सदस्य तथा घटनाका प्रत्यक्षदर्शी

रामबहादुर गोलेले आइतबार तामाङ भाषामा स्थानीयलाई ब्ल्याक बक्सबारे जानकारी गराएका थिए। ‘आयोगका सदस्यहरूले भनेका कुरालाई मैले तामाङ भाषामा उल्था गर्दै गाउँलेलाई बताएँ,’ गोलेले टेलिफोनमा नागरिकसँग भने। सोमबार एक्साभेटर ल्याएर जहाज खसेर बनेको खाल्डो खोतल्ने जानकारी उनले दिए। जहाज उडिरहेकै अवस्थामा अगाडिको भाग (नाक) भुइँतिर सोझिएर सिधै झरेको थियो। जहाज यसरी झर्दा नाकले टेकेको थियो। त्यसरी टेक्दा भुइँमा करिब ८ मिटर गोलाइ र १२ फिट गहिरो खाल्डो परेको छ। ‘ब्ल्याक बक्स कतै उछिट्टिएको हुनसक्छ वा कसैले महँगो सामान भनेर घरमा लुकाएको पनि हुनसक्ने शंका गरेका छौं,’ गोलेले भने, ‘दुर्घटना भएको तीन घन्टापछि उद्धार गर्न फिसटेल एयरको हेलिकोप्टरमा आएकामध्ये एकजनाले ब्ल्याक बक्सभित्र ६ किलो सुन हुन्छ भन्ने हल्ला चलाएदिएपछि झन् भेट्न कठिन भएको छ।’ जहाजले बनाएको खाल्डोभित्र ब्ल्याक बक्स नरहेको उनले बताए। ‘कसैले घरमा लुकाएर राखेको भए आफ्नो गाउँको इज्जतका लागि पनि ब्ल्याक बक्स आयोगलाई बुझाइदिन आग्रह गरेका छौं,’ उनले भने। घटनास्थलमा डिएसपीको नेतृत्वमा १५ प्रहरी खटिएका छन्। यसअघि ५० जना तैनाथ थिए। अग्नि एयरले घटनास्थल वरिपरिका धान, अदुवा र कोदो खेती नष्ट भएपछि सम्बन्धित विभिन्न धनीलाई लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ।

के हो ब्ल्याक बक्स?
सम्बद्ध प्राविधिकका अनुसार जहाजको पुच्छरमा ‘ककपिट भ्वाइस रेकर्डर’ (सिभिआर) र फ्लाइट डाटा रेकर्डर’ (एफडिआर) राखिएका हुन्छन्। जहाज दुर्घटना हुँदा पनि सुरक्षित राख्न यिनलाई पुच्छरमा राख्ने गरिएको हो। यीमध्ये एफडिआरलाई ‘ब्ल्याक बक्स’ भनिन्छ। यो फेला नपरेसम्म जहाज दुर्घटनाका कारण रहस्यकै गर्भमा हुन्छ। ५ हजार ७ सय किलोभन्दा बढी तौल भएका जहाजमा मात्र ब्ल्याक बक्स हुन्छन्। गत मंगलबार दुर्घटनामा परेको अग्निको उक्त जहाजको तौल ६ हजार २ सय किलो थियो। सिभिआरले ककपिटमा पाइलट र कोपाइलटबीच तथा पाइलटले टावरसँग गरेका कुराकानी स्वतः रेकर्ड गर्छ। ककपिटभित्र जे शब्द बोले पनि त्यसमा रेकर्ड हुन्छ। ककपिट नजिकै बसेका यात्रुले ठूलो स्वरमा बोलेको समेत रेकर्ड हुने गर्छ। त्यसै गरी एफडिआरले जहाजको उचाइ, दिशा, दूरी, इन्जिन फेल भए वा नभएको, इन्जिनको अवस्थालगायत रेकर्ड गर्छ। ब्ल्याक बक्स डेढ फिट लम्बाइ, आधा फिट चौडाइ र एक फिट उचाइको हुन्छ। यो अति बलियो धातुबाट बनेको हुन्छ। यसको तौल १० देखि १२ किलोसम्म हुन्छ। यो जस्तोसुकै विष्फोटमा परे पनि पनि नष्ट हुँदैन। यसको भित्र ट्रान्समिटर र रेकर्ड गर्ने क्यासेट हुन्छन्। यो सुन्तला रंगको हुन्छ। सिभिआर पनि सुन्तला रंगकै हुन्छ। ब्ल्याक बक्स भेट्नेलाई पुरस्कार दिने लागिएको यो पहिलोपल्ट हो। यसअघि जहाज दुर्घटना भएका ठाउँ पत्ता लगाउनमात्र नगद पुरस्कार दिइएको थियो। २०४९ सालमा थाई एयरवेज र केही वर्षअघि लुम्बिनी एयरवेज दुर्घटना हुँदा ठाउँ पत्ता नलागेपछि यस्तो पुरस्कार घोषणा गरिएको थियो।

source: nagarik

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s