बेलायतमा गोर्खाली सेना घटाउने तयारी


मणि दाहाल, काठमाडौं, भदौ १४- बेलायती सरकारको रक्षा बजेट कटौतीको सिकार गार्खाली रेजिमेन्ट बन्ने भएको छ। रक्षा बजेट सम्बन्धमा बेलायती गठबन्धन सरकारभित्र बढ्दो विवादको सिकार गोर्खाली सेना बन्न लागेको बेलायती समाचारपत्र अब्जर्भरले जनाएको छ।करिब २ सय वर्षदेखि बेलायती सेनाको अभिन्न अंगको रूपमा रहेको गोर्खा रेजिमेन्टमा अहिले ३ हजार ६ सय ४० गोर्खासैनिक छन्। बेलायती रक्षा मन्त्रालयलाई ट्राइडेन पनडुब्बी परमाणु क्षेप्यास्त्र प्रतिस्थापनका लागि थप बजेट आवश्यक छ। सरकारले रकम उपलब्ध नगराए सैनिक संख्या कटौती गरेर खर्च जुटाउने बेलायती रक्षा मन्त्रालयको तयारी छ। रक्षामन्त्री लिआम फक्सले प्रतिस्थापन कार्यका लागि मागेको रकम दिन बेलायती अर्थमन्त्री डानी अलेक्जेन्डरले अस्वीकार गर्दै आएका छन्। अर्थमन्त्रीले रक्षालाई प्राप्त हुने रकमबाटै सो कार्य गर्न जोड दिँदै आएका छन्। त्यसका लागि २० अर्ब पाउन्ड स्टलिङ खर्च लाग्ने देखिएको छ। अब्जर्भरसँगको अन्तर्वार्तामा अलेक्जेन्डरले खर्च पुनरावलोकनको विषयमा १० देखि २० प्रतिशतसम्म कटौती गर्नेगरी सम्बोधन भइरहेको बताए। रक्षाविज्ञका अनुसार अभिनेत्री जोआना लुम्लेले चलाएको ‘बेलायती सैनिकलाई समान अधिकार’ अभियानपछि गोर्खा रेजिमेन्टको सञ्चालन खर्च बढेकाले बेलायतले त्यसलाई खर्चिलो मान्न थालेको हो। लुम्लेको अभियानलाई अहिलेको गठबन्धन प्रधानमन्त्री डेभिड क्यामरुन तथा उपप्रधानमन्त्री निक क्लेगले प्रतिपक्षमा रहँदा समर्थन गरेका थिए। बेलायतले १ सय ५५ अर्ब पाउन्ड बजेट घाटा कम गर्ने उद्देश्य राखेको छ। अब्जर्भरका अनुसार रक्षा मन्त्रालयस्रोतले खर्चको दबाबका कारण गोर्खा तथा अन्य रेजिमेन्टको विषय ‘जुनसुकै निर्णय गर्ने’ सम्भावना रहेको बताएका छन्। संयुक्त ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष प्रेम राईले यस्तो भए ‘त्यो अप्रत्यासित र दुखद हुने बताए। उनले भने, ‘गोर्खालीको भर्ना लिन रोके सन् १९४७ को त्रिपक्षीय सन्धिविपरीत हुन्छ।’ उनले पूर्व गोर्खाली सैनिकलाई पनि समान सुविधा नदिने षड्यन्त्रका रूपमा यो कुरा अघि आएको बताए। तर गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का उपाध्यक्ष कुलबहादुर पुनमगरले सैनिक कटौतीको विषय नौलो नभएको बताएका छन्। उनले पटकपटक बेलायतीले गोर्खा सैनिकको संख्या कटौती गरेको बताए। बेलायती सेनाका क्याप्टेनसमेत रहिसकेका मगरले नागरिकसँग भने, ‘सन् १९९७ डिसेम्बरमा १ हजार गोर्खा सैनिक कटौती भएको थियो। म पनि त्यहीबेला कटौतीमा परेको हुँ।’यसपटक कटौती भए २-३ सयमात्र गोर्खा पर्नसक्ने उनले बताए। ‘भर्ती पूर्ण रूपमा बन्द हुने सम्भावना देख्दिनँ,’ उनले भने। उपप्रधानमन्त्री क्लेग तथा अन्य लिवरल डेमोक्र्याट मन्त्रीहरूमाथि ट्राइडेनको प्रतिस्थापन रोक्न समर्थकको दबाब बढ्दै गएको छ। गठबन्धन सरकारभित्र प्रतिस्थापनको विषय सैद्धान्तिक र वित्तीय विवादका रूपमा आएको छ। क्लेग ट्राइडेनका प्रतिस्थापनलाई अनवाश्यक खर्च ठान्छन्। ट्राइडेन प्रतिस्थापनको विषयमा सत्तारूढ कन्जरभेटिभ पार्टीमा समेत विवाद बढेको छ।  रक्षामन्त्री फक्सले पूर्णरूपमा प्रतिस्थापन खोजेका छन् भने चान्सलर जर्ज अस्बोर्नोमात्र होइन, प्रधानमन्त्री डेभिड क्यामरुनसमेत रकमको पूर्ण उपयोगिता नहुनेमा सशंकित छन्। रक्षास्रोतलाई उद्धृत गर्दै अब्जर्भरले जनाएअनुसार गोर्खा सैनिक कटौतीको पहिलो रोजाइमा छन्। पूर्व गोर्खा तथा उनीहरूका परिवारलाई सहयोग गर्दै आएको गोर्खा वेलफेयर ट्रस्टका प्रवक्ताले गोर्खा सैनिक कटौतीको जोखिम रहेको स्विकारेका छन्। कन्जरभेटिभ सांसद तथा पूर्व सैनिक अधिकारी प्याट्रिक मार्केरलेले अब्जर्भरसँग भने, ‘बिदा हुने पहिलो व्यक्ति बिग्रेड अफ गोर्खाज हुन्छन्। विगतमा पनि गोर्खा सुनिश्चित हुनुको कारण उनीहरूको सञ्चालन सस्तो पर्ने र सैनिक अभावले हो।’ नेपालमा रहँदा बेलायती सैनिकको तुलनामा एकतिहाइमात्रै पेन्सन पाउने पूर्व गोर्खासैनिकलाई पूर्ण पेन्सनसहित बेलायतमा बसोबासको व्यवस्था भएको छ। ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग सन् १८१५ मा सम्झौतापछि गोर्खा रेजिमेन्ट बेलायती सेनाको अभिन्न अंगको रूपमा रहँदै आएको छ।

source: nagarik

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s