दशैलाई २५ टन चिनी आउदै


मैना धितालमैना धिताल – काठमाडौं, आश्विन ४ – दसैं-तिहारलाई भनेर चिनी जोहो गरिरहने योजनामा हुनुहुन्छ भने त्यस्तो झन्झट नगरे हुन्छ । किनकि, यस पटक स्थानीय उत्पादनबाहेक भारतबाट पनि २० हजार टन चिनी दसैंअघि ल्याउन लागेकाले अभाव नहुने आपूर्ति मन्त्रालयका प्रवक्ता गणेश ढकालले बताए । ‘त्योसमेत गरेर साल्ट, नेसनल ट्रेडिङ र खाद्य संस्थानसँग २५ हजार टन चिनी मौज्दात हुनेछ,’ उनले भने, ‘त्यसबाहेक निजी कम्पनीहरूसँग पनि पर्याप्त चिनी भएकाले समस्या हुनेछैन ।’ गत वर्ष अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यवृद्धि र उत्पादन घटेकाले त्यसको असर नेपालमा परेको थियो । भारतले समेत चिनी उत्पादन उल्लेख्य रूपमा घट्ने प्रक्षेपण गर्दै पर्याप्त मौज्दात राखेको थियो । तर उत्पादन अनुमान गरेभन्दा बढी भएकाले बजारमा आपूर्ति सहज भई मूल्य पनि घट्न पुगेको हो । खाद्य संस्थानले आफूसँग मौज्दात रहेको करिब १० हजार क्विन्टल चिनी दसैं-तिहारमा बिक्री गर्ने जनाएको छ । गत वर्ष स्वदेशी उद्योगसँग चर्को मूल्यमा चिनी किनेको संस्थानले त्यसलगत्तै बजारमा भाउ घट्न थालेपछि बिक्री नगरी राखेको थियो । ‘किलोको ६४ रुपैयाँमा बेच्दा पनि डेढ करोड घाटा हुने देखिएको छ,’ संस्थानका नायब महाप्रबन्धक विजयध्वज थापाले भने, ‘बढी मूल्यमा खरिद गरे पनि नेसनल र साल्ट ट्रेडिङकै मूल्य अनुपातमा बेच्नेछौं ।’ कर्जा लिएको ब्याजसमेत जोड्दा उक्त चिनीको लागत मूल्य झन्डै ८० रुपैयाँ पुगेको उनले बताए । अहिले बजारमा किलोको ६० रुपैयाँ हाराहारीमा चिनी पाइन्छ । बजारमा हाल आइरहेको चिनीको तुलनामा संस्थानको राम्रो गुणस्तरको रहेको दाबी उनको छ । नेसनल र साल्टसँग पनि पर्याप्त मौज्दात रहेकाले चिनी अभाव नहुने उनको भनाइ छ । सामान्य अवस्थामा चिनीको खपत मासिक १० हजार टन हुने गरेकामा दसैं र तिहारका बेला मासिक १५ हजार टन खपत हुने गरेको सरकारी अनुमान छ । यसैबीच, सरकारले दसैं-तिहारमा उपभोग्य वस्तुको आपूर्ति सहज र मूल्यमा सहुलियत दिन व्यापारीलाई आग्रह गरेको छ । ‘जनतालाई राहत दिन सहुलियतमा सामान बिक्रीका लागि निजी व्यापारीलाई पनि अनुरोध गरेका छौं,’ विभागका महानिर्देशक अनिल ठाकुरले भने । विभागको संयोजकत्वमा हालै बसेको बैठकले असोज १५ गतेदेखि साल्ट, नेसनल र खाद्य संस्थानले उपत्यकाका तीन जिल्लामा छुट्टै स्टल राखेर दाल, तेल, चिनी, चामललगायतका उपभोग्य वस्तु सहुलियत दरमा बिक्री गर्ने निर्णय गरेको पनि उनले बताए । मिठाई र मासुको मूल्य व्यवस्थापनका लागि पनि व्यापारीहरूसँग छलफल गरी सहमति गरिने उनले जानकारी दिए ।

खसी-बोका ल्याउने तयारी खाद्य संस्थानले घटस्थापनाको एक/दुई दिनअघिदेखि राजधानीमा खसी-बोका उपलब्ध गराउने भएको छ । यसपालि ४ हजार खसी-बोका बिक्री गर्ने लक्ष्य रहेको उनले जनाए । गत वर्ष ६ हजार बिक्री गर्ने लक्ष्य राखिए पनि २ हजार ७ सय ५० मात्रै बिक्री भएको थियो ।संस्थानले यसपालि थप स्थानबाट खसी-बोका खरिद गर्ने पनि जनाएको छ । थापाका अनुसार यसपालि काभ्रे, बर्दिया र पर्सामा थप बिक्री केन्द्र राखिनेछ । गत वर्ष लहान, दाङ र नेपालगन्जबाट खसी-बोका खरिद गरिएका थिए । उपभोक्तालाई दसैंका बेला सहज र सहुलियत दरमा खसी-बोका उपलब्ध गराउन संस्थानले बिक्री गर्न लागेको हो । विगत वर्षहरूमा चीनबाट समेत भेडा-च्यांग्रा ल्याएर बेच्ने गरिएको थियो । तर मूल्य अत्यधिक बढेकाले ल्याउन छाडिएको उनले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s