भत्किएका घरहरूभित्रका आयातित पीडाहरू


प्राज्ञ कृष्ण शाह ‘यात्री’

नाटक र रङ्गमञ्च मेरो प्रिय विधा हो । यस विधासँग जोडिएका स्रष्टा र सिर्जना त मलाई झनै मन पर्छ । नेपाली नाटकको शोध गर्ने क्रममा विगत अढाइ दशकदेखि मैले नेपालका धेरैजसो नाटककार र रङ्कर्मीहरूलाई भेटेको छु । भेट्ने क्रम जारी नै छ । मोफसलमा रहेका धेरै नाट्यकर्मीहरू अझै भेट्न बाँकी नै छ । यसै क्रममा भेट भयो नाटककार, नाटक निर्देशक डि.बी. किरातीसँग । भेटाउने चाँजोपाजो मिलाइदिएका थिए मित्र सङ्गीतकार पविधन खालिङ, चित्रकार अर्जुन खालिङ र साहित्यकार भद्रगोल किरातीले । राजधानीमा प्राय हाम्रो भेट भइरहन्छ । तर यो पटकको भेट भने बढी सार्थक रह्यो । नाटककार डि.बी. किरातीको बारेमा मैले धेरथोर जान्ने मौका पाएँ । उनको नयाँ नाट्यकृति ‘भत्किएका घरहरू’ प्रकाशित हुन लागेको रहेछ । भुमिका लेखिदिनु पर्ने प्रस्ताव आयो । तर समय ज्यादै कम्ति थियो । सोचेँ एकजना नाटककारलाई नजिकबाट बुझ्न पाइन्छ ।

चौरीखर्क, सोलुखुम्बुबाट काठमाडौं आएका डि.बी. किरातीसँग थप कुराकानी भयो प्रत्यक्ष र फोनमा पनि । चोमोलुङ्मा प्रतिष्ठान नेपालले ‘चोमोलुङ्मा साहित्य सम्मान २०६७’ प्रदान गर्न लागेकोले सम्मान–ग्रहणका लागि काठमाडौं आएका नाटककार किरातीलाई मैले थोरै समयमा जति बुझ्न सकेँ । त्यसैलाई आधार बनाएको छु नाट्यकृति ‘भत्किएका घरहरू’को भूमिकाका लागि ।

नाटक उसै पनि अन्य विधाको तुलनामा कम्ति लेखिएको देखिन्छ । यो रङ्गमञ्चसँग जोडिएको दृश्य विधा भएकोले पनि नाटककारहरूमा मञ्च, प्रविधि र रङ्गचेतनाको धेरथोर जानकारी हुन आवश्यक देखिन्छ । यसैकारणले पनि नेपाली नाटक र रङ्गमञ्चमा बालकृष्ण सम, विजय मल्ल, मनबहादुर मुखिया, मोहनराज शर्मा, सरुभक्त, अशेष मल्ल, विप्लव ढकाल, गोपी सापकोटा, कृष्ण शाह यात्री नाटकहरुले रङ्प्रस्तुति र शिल्पका दृष्टि विशेष अर्थ राख्छ । २०६६ सालमा खोटाङका नाटककार प्रवीण पुमाको पूर्णाङ्की नाटक ‘हेत्छाकुप्पा’ र पाँचथरका नाटककार डा. देवी क्षेत्री दुलालको नाटकसङ्ग्रह ‘नाटक अनाटक’ को भुमिका लेख्ने क्रममा पनि मैले यो कुरा पाएँ ।

नाटककार डि.बी. किरातीको ‘भत्किएका घरहरू’ मा पनि यसका प्रशस्त रङ्गसङ्केतहरू देखेँ । उनको नाटक पढ्दै जाँदा मष्तिष्कमा एउटा प्रभावकारी रङ्गमञ्च पनि तयार भयो । यो पाठक, दर्शक र नाटककारको लागि ज्यादै महत्वपूर्ण कुरा हो । नाटकको निम्ति त यो झनै सबल पक्ष हो । डि.बी. किराती आफै पनि नाटक निर्देशक र अभिनेताका रूपमा दर्जनौ नाटकमा सहभागी भएकाले पनि उनको नाटकमा रङ्गमञ्च र अभिनेय पक्ष जीवन्त देखिन्छ ।

उनले २०४८ देखि २०५२ सम्म काठमाडौँमा थुप्रै नाटकहरुको लेखन तथा निर्देशन समेत गरेको कुरा यहाँ उल्लेख्य छ । उनी कुनै समय चित्रकलामा पनि सक्रिय थिए । अहिले मोफसलमा बसेर निरन्तर साहित्य साधनामा तल्लिन डि.बी. किरातीको नयाँ नाट्यकृति आउनु रङ्गकर्मी र पाठकका निम्ति पनि खुशीको कुरा हो ।

डि.बी. किराती (वि.सं. २०१२) का सातवटा कृतिहरू प्रकाशित भइसकेका छन् । ती हुन् – ‘खोजी’ (२०४२) उपन्यास उनको पहिलो कृति हो । यसपछि उनले लघुकाव्य ‘के तिमी जिउँदै छौ ?’ (२०४५), नाटक ‘चुनौती’ (२०४८), नाटक ‘मुल्केम’ (२०४९), मुक्तक सङ्ग्रह ‘पोका पन्तरा’ (२०५४), कवितासङ्ग्रह ‘पागलको डायरी’ (२०५८) र निबन्धसङ्ग्रह ‘के हो नयाँ नेपाल’ (२०६६) । उनले धेरैजसो सामाजिक विषयमा केन्द्रित भई साहित्य सिर्जना गरेको देखिन्छ । आफुले देखेका÷भोगेका विसङ्गती पक्षलाई नाटकको कथानक बनाउन उनको लगाव देखिन्छ । र यसले सामाजिक विकास र रुपान्तरणको आवाज पनि उठाइरहेको देखिन्छ ।

‘भत्किएका घरहरू’ मुलतः सामाजिक नाटक हो । यसको लेखन कार्य २०६३ मा भएको हो । ‘भत्किएका घरहरू’ले बिग्रदै गएको, लथालिङ्ग र भताभुङ्ग हुन थालेको आस्थाका निकेतनहरुको कथा भन्छ । आधुनिकताको होडबाजीमा आयातित पीडाको व्यथा कहन्छ । नाटक कुनै हिमाली गाउँ र यसको वरिपरिको परिवेशमा केन्द्रित छ । हिमाली परिवेशलाई मूल कथानक बनाएर यसअघि पनि सरुभक्त ‘थाङ्ला’, विजय मल्लको ‘नाम नभएको मानिस’, कृष्ण शाह यात्रीको ‘असम्बन्ध’ नाटकका रूपमा प्रकाशित छन् । यी बाहेक पनि हिमाली मिथक र परम्परामाथी नाटक लेखिएको छ ।

‘भत्किएका घरहरू’ले भने सामाजिक यथार्तमाथी तिखो व्यङ्ग्य समेत गरेको छ । नाटकमा एकजना नारी पात्र हुन्छिन् डोल्मा । उनी पढेलेखेकी हुन्छिन् । उनको श्रीमान् कुसाङ पर्यटन व्यवसायी हुन्छन् । हिमाल चढ्न गएका कुसाङ नफर्किएपछि डोल्माको जीवनमा नयाँ मोड आउछ । गर्भमा रहेको बच्चा ज्याप्याङलाई जन्म दिने, हुर्काउने, पढाउने र एक जिम्मेवार नागरिक बनाउने । छोरा हुर्किएपछि आर्थिक रुपमा सबल हुनको लागि पनि उनी विदेशिन्छिन् । अभिभावकको निगरानी र हेरचाहको अभावमा ज्याप्याङ बिग्रदै जान्छ । स्कुलबाट रेस्टिकेट हुन्छ र ड्रग्सको सहारामा जिउन थाल्छ । यो कुरा थाहा पाएपछि डोल्मा आफ्नो गाउँलाई माया मारी विदेशमा नै घरजम गरी बस्न थाल्छिन् ।

नाटकमा यो एउटा मात्र विकृतिको कथा छैन । थुप्रै उपकथाहरु जोडिएर आएका छन् फर्सीका लहरा जस्तै । जनयुद्धको क्रममा मारिएका ‘हर्के’ योद्धा पवन खम्बुको कथा पनि छ । उनको शिक्षक बाबु बिर्खे छोरो हर्के र छोरी पुष्पा मुक्तिको लागि लड्दालड्दै मारिएपछि कसरी एक्लिन पुग्छन् ? सहिदका सपनाका घरहरू क्रमशः भत्किदै जान थालेपछि उनी कसरी विक्षिप्त हुन्छन् रु नाटकले मार्मिक रूपमा प्रष्याएको छ । नाटकमा भत्किदै गएका आस्थाहरू छन्, विचलित हुँदै गएका कदमहरु छन्, अभिशप्त आँखाहरु छन्, जिर्ण हुँदै गएका विचारहरु छन् । त्रासदी र दुःखान्तका कहालीलाग्दा दुर्नियतीहरु छन् । नाटकमा एकजना पीडित गाउँले ल्हाक्पाले कुनै बेला ज्ञानको ज्योति छर्दै हिड्ने बिर्खे मास्टर बौलाएपछि कठोर पीडा ओकल्छ ।

ल्हाक्पा ! ए गुरु बिख्र्यौ रुयारो कारायारो पुनि क्या गर्नु, आबो मोरो नि ता तोपेको छ्वारा बुन्दुकको गोली खाइरा मोरो, म्यारु छ्वारा चोमोलुङ्माको हिउ खायारो मोरो, तोपेको छ्वारी राछिस्ल्या खाइरो मोरो, म्यारु छ्वारी दोलेमा यतिले खाएरा मोरो, तोपेको ससनी राकात छात्यारो मोरा, म्यारु ससनी पखाला चालेरो मोरो, इकि हो के…

यहाँ जीवनको भोगाइ फरक छैन । आम नेपालीको भोगाइ हो । नाटककारले यो जीवनलाई अझ नजिकबाट देखेका छन् । भोगेका छन् । र त्यसलाई टपक्क टिपेर नाटकका संवाद र कार्यव्यापारमा जस्ताको तस्तै उनीदिएका छन् । पढ्दै जाँदा हामी त्यही गाउँमा पुग्छौ । छ्युम्बी लठेब्रो भएकै कारणले कसरी गाउँमा अपमानित भइरहेको छ ? परिवर्तनकामी युवाहरू कसरी देशलाई नयाँ दिशामा हिडेको हेर्न चाहन्छन् ? उचित संरक्षण र हेरचाहको अभावमा गेलु, काजी र ज्याप्याङ जस्ता बालबालिकाहरु कसरी गलत मार्गमा हिड्न थाल्छन् ? टेकेको जहानलाई कसरी पहिरोले खान्छ ? इत्यादि थुप्रै प्रश्नहरुको जवाफ पनि दिन्छ यस नाटकले ।

मुलुकमा साक्षरताको प्रतिशत आकाशिदो छ । शिक्षित बेरोजगारको संख्या पनि चुलिदो छ । अन्तराष्ट्रियस्तरबाट आइएनजीओहरुले शिक्षाको नाममा भित्राएका करोडौ रकम ब्रम्ह लुट गरिरहेका छन् । नाटककार डि.बी. किरातीले नाटकमा देखाएको गाउँमा भने अझै शिक्षाकोमहत्व बुझाउन सकिएको छैन । त्यहाँ एकजना बाबु आफ्नो छोराले शिक्षा पाएपछि बिगे्रला भन्ने चिन्ताले ग्रस्त छ । ‘सिजोफेनिया’भन्दा खतरनाक लाग्छ यो पीडा । नाटकको एक प्रमुख पात्र टेकेको चिन्ताको विषय पनि यही हो । टेक   यो संसारमा कति बन्डुक छा ? कति तोप छा ? कति गोली बारुक छा आनि कति बमगोला छा त्यो सप्पै पोर्‍याकोले बानायो खि नापो¥याकोले बानायो ? पो¥याकोहरुले पाप ग¥यो । म नापोर्‍याको मन्छे भए पुनि मलाई राम्रो अनुभोक छ ।

टेकेको तर्क केही हदसम्म सही छ । तर शिक्षाले मानिसलाई असल पनि बनाउन सिकाउँछ । त्यसलाई सहि तरिकाले प्रयोग गर्नु पर्छ । मानव र प्रकृतिका हितका लागि शिक्षाले दिन सक्ने अनुपम योगदानहरु पनि छन् । त्यसलाई पनि हामीले भुल्नु हुँदैन । यहाँ नाटककारले विश्व एक्काइसौ शताब्दीको सँघारमा आइपुग्दा समेत हाम्रो राज्य र समाज कुन ठाउँमा छ भन्ने कुरा औल्याइदिएका छन् ।

यस नाटकमा डेढ दर्जन पात्रहरु छन् । कथावस्तु जस्तै नाटकको पात्रचयन र संवादमा यथार्थ र आञ्चलिकताको स्वाद भेटिन्छ । पात्रहरु हिमाली भेगमा बोलिने स्थानीय लवजमा बोल्छन् । पढ्दा केही अलमल लागेपनि पछि त्यसको मिठास बेग्लै किसिमको लाग्छ । नाटकको एउटा मूल विशेषता यो पनि हो । यो नाटकको आरम्भदेखि अन्त्यसम्म देखिन्छ । नाटकको भाषिक प्रयोगमा कुनै पनि किसिमको क्लिष्टता, दुरुहता र जटिलता नभई लोकजीवनमा प्रचलित सर्वमान्य सरल, सहज तथा स्वाभाविकता झल्किएको पाइन्छ ।

नाटकमा सामाजिक द्वन्द्व छ । राजनैतिक द्वन्द्व पनि छ । थयार्थवादी नाटक हुँदा हुँदै पनि कतिपय ठाउँमा विम्ब र प्रतिकको प्रयोग भएको छ । नाटकको अन्त्यमा एउटा स्वैरकल्पनाको प्रयोग भएको छ । सालिक बोल्छ । सालिक नै बोल्नु पर्ने स्थिती देखा पर्छ । सालिकले मार्ग निर्देशन गर्छ । विचारको तरङ्ग उब्जाउँछ ।

सालिक ः (ठूलो स्वरमा) काँतर बिर्खे हो, भूकम्प गैसक्यो । हुरी चल्न छाडि सक्यो, किन कहालिन्छौ ? अब त उज्यालो पनि भइसक्यो । अब रुने, कराउने र चिच्याउने नगर । हुरी बतास, आँधीबेरीको विशेषता नै यही हो । हुरी चल्ने क्रममा कति बिर्खेहरुको छानो उड्यो, कति बिर्खेको मूल खम्बा नै ढल्यो, अझै कति बिर्खेहरुको त झन् जगबाटै छाप्रो उखेलियो । मेरो कुनै गुनासो छैन बिर्खे हो । अब आफ्नो छाप्रो आफै उठाओ, बलियो बार–बन्धन गर । किनकी मानव सभ्यतामा एउटा हुरीको अस्तित्व मेटिनासाथ अर्को हुरी त चल्छ नै चल्छ ।

डि.बी. किरातीको नाटक ‘भत्किएका घरहरू’ पछिल्लो समयको कथा हो । हामीले खोजेको समाज र हामीले भोगीरहेको समय बीचको दुरीले एउटा अत्यासलाग्दो वर्तमान निर्माण गरिरहेको छ । जहाँ क्रमशः घरहरु भत्किरहेका छन् । साम्राज्यवादी र विस्तारवादी सोचले हामीलाई गाँज्दै लगिरहेको छ । निल्दै गइरहेको छ । हामी एकातिर आफ्नै अस्तित्वको लडाइँमा छौं भने अर्कोतिर विस्थापनमा मोह पनि दर्शाइरहेका छौं । यसले पक्कै पनि राम्रो अनागतको सङ्केत गर्दैन । यस मामलामा यो नाटकले समाजलाई सही रूपमा डो¥याउन सफल हुन सकोस् । समग्रमा भन्नु पर्दा यो एउटा पठनीय नाट्यकृति बनेको छ । रङ्गमञ्चले पनि एउटा उम्दा कृति पाएको छ । डि.बी. किरातीको कलम निरन्तर नाटकमा चलिरहो्स । धेरै–धेरै शुभकामना पनि छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

वि.सं. २०६७ भाद्र २८ गते

मैतिदेवी, काठमाडौँ ।

krishnayatri@gmail.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s