मध्यपहाडी राजमार्ग बन्दै : ओखलढुंगा एकै दिनमा


काठमाडौं, आश्विन २५ – मध्यपहाडी राजमार्ग कच्ची सडक बनेपछि राजधानीमा रहेका ओखलढुंगाका युवाहरू एक्कैदिनमा गन्तव्यमा पुग्न थालेका छन् । दसैंमा घर फर्किनहरूसमेत यही बाटोबाट मोटरसाइकलमा सवार हुने गरेका छन् ।

कच्ची ट्रयाक बनेपछि राजधानीबाट छोटोबाटो रोजेका हुन् । भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीका अनुसार, मध्यपहाडी राजमार्ग निर्माणकै क्रममा रहेकाले सवारी साधन चलाउन नमिल्ने प्रतिक्रिया दिएका छन् ।

काठमाडौंबाट बनेपा-बर्दिबास बीपी राजमार्गसँगै मध्यपहाडी राजमार्ग जोडिएको छ । सुनकोसी किनारा हुँदै बनेको यो राजमार्ग सिन्धुली र उदयपुरको घुर्मी शिवालयमा जोडिएको छ । मध्ये पहाडी राजमार्ग ट्रयाक बनेपछि सर्वसाधारण मोटरसाइकलबाट करिब दसघण्टामा घुर्मी शिवालय पुग्ने गरेका छन् । नयाँ बाटो बनेपछि राजधानीबाट घुर्मी शिवालयसम्मको दुरी आधाभन्दा कम भएको छ ।

हालसम्म काठमाडौंबाट महेन्द्र राजमार्ग हुँदै उदयपुरको कटारीसम्म करिब ४ सय किलोमिटरको दुरी बस सेवा उपलब्ध छ । कटारी-ओखलढुंगा सिद्धिचरण मार्गको ४६ किलोमिटर दुरीमा उदयपुर, सिन्धुली र ओखलढुंगाको सीमा घुर्मी शिवालय भन्ने ठाउँसम्म यातायात चल्छ । घुर्मी शिवालयबाट ओखलढुंगातर्फ जान सुनकोसीमा झोलुंगे पुल तर्नुपर्छ । पक्की पुल बनेको छैन ।

‘घुर्मी शिवालयबाट काठमाडौंसम्म १ सय ८८ किलोमिटर बाटो पर्दोरहेछ’, ओखलढुंगा उँबु-१ का युवा मेडल राईले भने, ‘छोटो बाटो भएकोले त्यतैबाट फिर्दैछु ।’ होन्डा युनिकन बाइक चलाउने उनी आइतबार त्यही कच्चीबाटो हुँदै गाउँ फर्किएका छन् ।

ओखलढुंगा हिलेपानीका अर्का युवा पचुराम राई आफ्नी सासूआमालाई लिएर एक्कै दिनमा गाउँ पुग्न सकेको दङ्ग छन् । ‘सासूसँगै जाँदा झण्डै बाह्र घण्टा लाग्यो’, पहिलो पटक अपरिचित बाटोमा गत साता यात्रा गरेका उनले भने, ‘एक्लै भएको भए आठ-नौ घण्टामा पुग्थेँ ।’

राजधानीबाट काभ्रेको धुलिखेलसम्म ३० किलोमिटर अरनिको राजमार्ग पछ्याउनु पर्दछ । त्यसपछि दक्षिणतर्फ भकुन्डेबेँसी, रोसिखोला हुँदै ४० किमि बीपी राजमार्ग मंगलटारसम्म पिच रहेको काभ्रे चापाखोरी-१ का युवा सञ्जय मोक्तान बताउँछन् । नेपालथोक -दुम्जाबेंसी) बाट रातमाटे, झाँगाझोली हुँदै खुर्कोटसम्म बीपी राजमार्ग पिच हुने क्रममा छ । खुर्कोटदेखि मध्यपहाडी राजमार्ग सुरु भएको छ । रोशिखोला हुँदै सुनकोसी गडतिरमा बनेको यो सडक खण्ड-खण्ड गरी निर्माण कार्य भएको पचुरामले सुनाए । ‘सबै कच्ची सडक ट्रयाक जोडिएको भए अझ सजिलो हुन्थ्यो’, पल्सर बाइक चलाउने उनले भने ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरिया मध्यपहाडी राजमार्ग निर्माणकै क्रममा रहेको र यातायात सञ्चालन अनुमति नभएको बताउँछन् । ‘मध्यपहाडी राजमार्ग खुलिनसकेको छैन’, राजमार्गप्रति स्थानीय प्रशासन जिम्मेवार रहेको उल्लेख गर्दै उनले कान्तिपुरसित भने, ‘सर्वसाधारण आफैले जोखिम मोलेर हिंड्न खतरापूर्ण छ । यसमा सरकार जिम्मेवार हुनसक्दैन ।’ बीपी राजमार्ग निर्माणमा जापानको हाज्मा कम्पनी संलग्न छ भने मध्यपहाडी राजमार्ग नेपाल सरकारले निर्माण जारी राखेको छ ।

व्यवसायीले हिमाल-तराई यातायात सेवा समिति गठन गरी उक्त सडकको बनेपादेखि खुर्कोटसम्म ३४ वटा गाडी सञ्चालन गर्दैआएको छ । अरनिको, काभ्रे मिनिबस, काभ्रे बस र हेलम्बु यातायातले संयुक्त रुपमा उक्त समिति निर्माण गरी यातायात सञ्चालन गर्दैआएको अरनिको यातायात सेवा समितिका कोषाध्यक्ष केशवराज भारतीले बताए ।

‘दसैंभित्रै गाडी सञ्चालनका लागि संयुक्त टोली बाटो निरीक्षण गर्न सिन्धुली-उदयपुरको घुर्मी शिवालयसम्म गएको छ’, उनले भने । तत्कालै यातायात संख्या बढाएर ६६ वटा बस सञ्चालन गर्ने तयारी गरेकोसमेत उनले जनाए । खुर्कोटदेखि घुर्मी शिवालयसम्म करिब ९० किलोमिटर कच्ची सडकसमेत बन्ने क्रममा छ ।

महेन्द्र राजमार्ग बन्नुअघि पूर्वी पहाडका बासिन्दा राजधानी आउँन ‘रोशिखोलाको बाटो’ पैदल यात्रा गर्दथे । त्यसयता दसैं र अन्य अवसरमा खसी व्यापारीले यो बाटो प्रयोग गर्थे । मध्य पहाडी राजमार्ग ट्रयाक बनेपछि सिन्धुली, रामेछाप, ओखलढुंगा, ओखलढुंगा, खोटाङलगायतका बासिन्दा लाभान्वित हुनेछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s