नेपालका लागि विश्वकप सपना


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अर्को निर्णय नआए नेपालका लागि विश्वकप एउटा सपनामा सीमित हुनेछ। आइसिसीले २०१५ देखि विश्वकपमा १० राष्ट्रमात्र सहभागी गराउने निर्णयपछि नेपालका लागि क्रिकेट कुम्भ मेलाको सम्पूर्ण ढोका बन्दसरह भएको छ। दुबईमा अघिल्लो दिन बसेको आइसिसीको बैठकले छनोट खेलेर आउने एसोसिएट राष्ट्रको कोटा कटौती गरेको थियो।

आइसिसीले विश्वकपबाट ४ कोटा कटौती गरेर विश्व ट्वान्टी-२० मा ६ राष्ट्र थपेर १६ टोली पुर्‍याउने निर्णयमा नेपाल लगायत एसोसिएट राष्ट्र खुशी हुन सकेको छैन।

‘टेस्ट नखेल्ने राष्ट्रका लागि यो निकै दुःखद खबर हो,’ नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, ‘वर्तमान संरचनाअनुसार हाम्रो विश्वकप छनोट सम्भावना रहेको थियो, तर अब हामीजस्ता एसोसिएट राष्ट्रका लागि केही भएन।’

सन् २०११ को विश्वकपसम्म १४ राष्ट्रले सहभागिता जनाउने छन्। २०१५ पछि भने टेस्ट खेल्ने राष्ट्रले मात्र विश्वकपमा सहभागिता जनाउने छन्। २००७ को विश्वकपमा १६ राष्ट्र हुँदा प्रतियोगिता लामो भएको भनेर यसको आलोचना भएको थियो। त्यसैअनुरूप भारत, श्रीलंका र बंगलादेशमा आगामी वर्ष हुने विश्वकपमा २ टोलीका साथै प्रतियोगिताको अवधि पनि घटाइएको थियो। त्यसका बावजुद आइसिसीले बुधबार आफ्नो निर्णय सार्वजनिक गरेको थियो। आइसिसीले २०१५ को विश्वकप छनोट भनेर अहिले पनि विश्व क्रिकेट लिग संचालन गरिरहेको छ।

‘आइसिसीले के हेरेर यो निर्णय गर्‍यो मैले बुझिनँ, तर विश्वकपमा १० राष्ट्रमात्र खेलाउने हो भने त्यसको दाँजोमा एसोसिएट राष्ट्रको विश्वकप गराउनुपर्छ। हैन भने विश्व क्रिकेट लिगको कुनै औचित्य छैन,’ पारसले नागरिकसँग भने, ‘सचिन तेन्दुलकर, माइकल क्लार्कजस्ता खेलाडीसँग खेल्ने एसोसिएट राष्ट्रका खेलाडीको सपनामै सीमित हुन्छ।’

एकदिवसीय खेल्ने नेपालको सपना विश्वकप र एसिया कपबाट छनोट चरण पार गरेर रहेको थियो। विश्वकप खेल्ने सम्भावना क्षीण भएपछि नेपालको लागि एकदिवसीयसँग जोडिने पुल एसिया कपमात्र बाँकी छ। नेपालले दुई पटक छनोट भएर पनि एसिया कप खेल्न पाएन। एसियाली क्रिकेट परिषद्ले प्रत्येक दुई वर्षमा आयोजना गर्ने एसिसी ट्रफीको फाइनलमा पुग्ने टोली भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान छ।

युएई र नेपाल २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीको फाइनल पुगेका थिए। तर भारत र पाकिस्तानबीचको कार्गिल युद्धका कारण एकआपसमा नखेल्दा एसिया कप अवरोध भइ नेपाल एकदिवसीय क्रिकेट खेल्नबाट बञ्चित भयो। यसै वर्ष कुवेतमा भएको एसिसी ट्रफीमा पनि नेपाल फाइनल पुगेको थियो। तर टेस्ट राष्ट्रले व्यस्त सत्रका कारण समयाभाव देखाएपछि एसिसीले एसोसिएट राष्ट्रलाई एसिया कपमा समावेश नगर्ने निर्णय पहिले नै गरिसकेको थियो।

श्रीलंका, जिम्बावे र बंगलादेशले एसोसिएट राष्ट्रका रूपमा विश्वकपमा राम्रो प्रदर्शन गरेर टेस्ट खेल्ने हैसियत बनाएका थिए। क्यानडासहित एसोसिएट राष्ट्रले आइसिसीको पछिल्लो निर्णयको विरोध गरेका छन्। आयरल्यान्डले आइसिसीको निर्णयलाई ‘अतिवादी कदम’ भनेको छ। पुरानो संरचनामा क्यानडाले छनोट चरण पार गरेर १९७९, २००३ र २००७ को विश्वकप खेलेको थियो। केन्याका प्रमुख कार्यकारी टोम सिएर्सले आइसिसीको पछिल्लो निर्णयमा भने, ‘छनोट नखेली सोझै विश्वकप खेल्ने क्रिकेटमात्र सम्भवत एक्लो खेल होला।’

छनोट चरण पार गरेर विश्वकपमा छनोट भएका राष्ट्रले विश्वकपमा स्मरणीय नतिजा दिएका पनि छन्। १९९६ मा केन्याले वेस्ट इन्डिजलाई र १९९९ मा बंगलादेशले क्रिकेटको सबैभन्दा ठूलो मेलामा पाकिस्तानलाई पराजित गरेका थिए। २००३ मा अर्को एसोसिएट राष्ट्र केन्या विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो। २००७ मा एसोसिएट राष्ट्र आयरल्यान्डको शिकार पाकिस्तान भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष विनयराज पाण्डे छुट्टै भनाइ राख्छन्। ‘एसोसिएट राष्ट्रले विश्वकपमा राम्रो प्रदर्शन गरेपछि टेस्ट स्तरमा लानु पर्दछ, तर विश्वकपमै सिमित राख्ने हो भने त्यसको कुनै मतलब हुदैन्,’ पाण्डेले भने, ‘त्यसैले विश्वकपमा १० राष्ट्रमात्र खेलाउने निर्णयपछि आइसिसीले एसोसिएट राष्ट्रबाट एकदिवसीय खेल्ने राष्ट्र बढाउनु पर्दछ।’

एसोसिएटका शीर्ष ६ राष्ट्र आयरल्यान्ड, स्कटल्यान्ड, क्यानाडा, नेदरल्यान्ड, केन्या र अफगानिस्तानलाई आइसिसीले अहिले एकदिवसीय मान्यता दिदै आएको छ। आइसिसीका डेभलपमेन्ट सदस्य पनि रहेका पाण्डेले विश्वकपमा १० राष्ट्रमात्र खेलाउने निर्णयबारे आगामी नोभेम्बरमा चीनमा हुने डेभलपमेन्ट बैठकमा छलफल हुने बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s