कांग्रेसमा अब भागबन्डा हुँदैन’


काठमाडौ, कार्तिक ३ – कांग्रेस सभापति सुशील कोइरालाले महाधिवेशनको निर्वाचन परिणामले पार्टी एकताको सन्देश दिएको बताउँदै भागबन्डाको कुरा झिकेर सभापतिलाई कमजोर नबनाउन आग्रह गरेका छन् । पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय नेताहरूले मत परिणामलाई हेरेर सभापतिले पदाधिकारी र सदस्यको मनोनयन गर्नुपर्ने माग उठाइरहेका बेला कोइरालाले भागबन्डा गर्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

सभापति निर्वाचितलगत्तै बिरामी परेर बुद्धनगरस्थित भान्जाको निवासमा आराम गरिरहेका कोइरालाले मंगलबार कान्तिपुरसँग कुराकानीमा भने, ‘निर्वाचनले यो या ऊ पक्ष भन्ने समाप्त पारिसकेको छ । अब भागबन्डाको कुरा झिकेर पार्टीलाई अप्ठ्यारोमा पार्न हुँदैन । भागबन्डाको कुरा आउन म दिन्नँ ।’

देउवा पक्षले आफ्नो प्यानललाई झन्डै ४५ प्रतिशत मत आएको बताउँदै सभापतिले मनोनयन गर्न पाउने तीन पदाधिकारीमध्ये उपसभापति वा महामन्त्री र त्यही रूपमा सदस्य पाउनुपर्ने माग गर्दै आएको छ । विधानतः सभापतिले उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ । निर्वाचित केन्द्रीय समितिमा कोइरालाले नेतृत्व गरेको संस्थापन पक्षमा ३५ र देउवा पक्षमा २९ सदस्य छन् ।

‘भागबन्डाले पार्टीलाई अप्ठ्यारोमा पार्छ, सभापतिलाई कमजोर बनाउँछ । यस्तो काम कतैबाट हुनुहुँदैन,’ उनले भने, ‘एसिया र युरोपमा समेत पार्टीभित्र सभापति कमजोर भएको इतिहास कतै छैन । हाम्रो विधान बनाउँदा पनि म धेरै लडेको छु । यो सभापतिको अधिकार हो भन्ने कुरालाई उहाँहरू -देउवा) ले बुझ्नुपर्छ ।’

कोइराला देउवाबाट आफूलाई सहयोग मिल्नेमा आशावादी देखिन्थे । ‘देउवाले सहयोग गर्छु भन्नु भएको छ । त्यसले मलाई पार्टी एकता गर्न प्रेरित गरेको छ,’ उनले भने, ‘म यसका लागि उहाँलाई धन्यवाद दिन्छु र छलफल र परामर्शबाट पार्टी सञ्चालन गर्छु भन्ने विश्वास पनि दिलाउँछु ।’

कांग्रेसमा अब भागबन्डा हुँदैन’

तपाईं बिरामी भएकै कारण नयाँ कार्यसमितिको बैठक पनि बस्न सकेन । अब कहिले बस्दै छ ?

दसैंलगत्तै बस्छ । त्यसका लागि छलफल गर्दैछौं ।

निर्वाचनमा बेला पार्टी एक बनाउने तपाईंको मुख्य मुद्दा थियो । सभापति भएपछि कसरी समेटेर लैजाँदै हुनुहुन्छ ?

हिजोसम्म पार्टीमा भावनात्मक एकता थिएन । अधिवेशनले ठूलो एकताको सन्देश दिएको छ । निर्वाचनमा प्यानल बनाउने सोचाइ मेरो पटक्कै थिएन । शेरबहादुरजी, भीमबहादुरले बनाएपछि मैले पनि साथीहरूको आग्रहमा बाध्यताले बनाएँ । तर यो राम्रो थिएन भन्ने मलाई अझै लाग्छ । अब परिणाम आइसकेपछि भागबन्डाको कुरा गर्नु हुँदैन । भागबन्डा महाधिवेशनपछि समाप्त भएको छ ।

अधिवेशनले एकता दिएको छ भनेर नै पार्टी एकता होला त ?

अब धेरै लडाउने भिडाउने काम नगर्नुहोस् । निर्वाचनले एकताको सन्देश दिइसकेको छ । अब पनि यति प्रतिशत आयो, उति आयो भनेर भागबन्डाको कुरा गर्नु राम्रो होइन ।

देउवा पक्षबाट त तपाईंले मनोनयन गर्दा मत प्रतिशतको आधारमा हुनुपर्छ भन्ने कुरा आएको छ नि ?

त्यो राम्रो कुरा होइन । सुरुमा पत्रपत्रिकामा पढेको थिएँ । आजभोलि कसैले पनि भनेको छैन । महाधिवेशनले मलाई एउटा ‘म्यान्डेड’ दिएको छ । त्यो जिम्मेवारी र सभापतिको आफ्नो अधिकारको प्रयोग गरी म अघि बढ्छु । भागबन्डालाई म हेर्दिनँ ।

अघि बढ्दा देउवा पक्षलाई पनि समेट्नु पर्ला !

यस्तो-उस्तो म भन्दिनँ । ऊ र यो पक्ष भन्ने अवस्था खत्तम भइसकेको छ । अब पार्टीलाई कसरी हाँक्ने, कसरी सञ्चालन गर्ने भन्ने हो ।

पराजित भएका राम्रा व्यक्तिहरू पनि छन् । उनीहरूलाई कसरी समेट्नु हुन्छ ?

त्यसमा साथीहरूसँग छलफल हुँदैछ । एकातिर हारेकालाई मनोनीत गर्न हुन्न भन्ने कुरा पनि छ । अर्कोतिर पराजय भएका साथीहरू पनि पार्टीका लागि आवश्यक छ भन्ने छ । जिम्मेवारी भन्नासाथ केन्द्रीय समितिमै ल्याउनुपर्छ भन्ने होइन । अरू जिम्मेवारीहरू पनि हुन्छ ।

देउवालाई काम गर्ने ठाउँ भएन । ठाउँ दिनुपर्छ भन्ने छ नि ?

सभापतिमा पराजित भए पनि देउवा केन्द्रीय कार्यसमितिको सदस्यमा आउनुहुन्छ । सभापतिमा पराजित भएकालाई केन्द्रीय समितिमा ल्याउने पार्टीको परम्परा पनि छ । उहाँले भूमिका भएन भनेर भन्न मिल्दैन । म चुनावमा गएको वर्ष हारें । अनि मेरो कुनै भूमिकै भएन त ? भूमिका आफूले बनाउने हो ।

सभापति भएपछि तपाईंले लिएको प्राथमिकता के हो ?

शान्ति प्रक्रिया र संविधान निर्मााणमा पूरा गर्ने प्राथमिकता

हो । अर्को मेरो प्राथमिकता पार्टीमा प्रणालीको विकास गर्ने हो । प्रजातान्त्रिक समाजवादको आदर्श र संस्कृतिलाई व्यवहारमा उतार्न नसकेकै कारण पार्टी कमजोर भएको हो । त्यसलाई अघि बढाउने मेरो योजना छ ।

अर्को महाधिवेशनमा सुशील र शेरबहादुर पक्ष भन्ने हुँदैन त ?

हो, हुँदैन । मेरो कार्यकालयमा यस्तो विभाजन हटाउने मुद्दा प्रमुख हुनेछ ।

देउवासँग छलफल र अन्तक्रिर्या भएको छ कि छैन ?

म बिरामी हुँदा शेरबहादुरजी भेट्न आउनुभएको थियो । पार्टीका बारेमा छलफल भएन ।

तपाईंले देउवासँग कस्तो सहयोग अपेक्षा गर्नुभएको छ ?

उहाँले सहयोग गर्छु भन्नुभएको छ । यसले मलाई प्रेरित गरेको छ ।

देउवाले त तपाईंले गर्ने परामर्शका आधारमा सहयोग गर्छु भन्नुभएको छ नि ।

परामर्श गर्छु । सबै साथीहरूको सल्लाहबाट पार्टी अघि बढाउँछु । छलफल गरेरै निर्णयमा पुग्नेछु । त्यसमा अलिकति पनि म विचलित हुने छैन । प्रजातान्त्रिक पद्धतिबाट निर्णय हुन्छ । तर भागबन्डाको कुरा गरेर पार्टीलाई अप्््यारोमा पार्नु हुँदैन ।

पदाधिकारी र सदस्य कहिले मनोनयन गर्नुहुन्छ ?

छलफल गर्दैछौं । पहिलो बैठकमा अधिवेशनको समीक्षा होला । त्यसपछि मनोनयनको प्रक्रिया हुन्छ ।

प्रसंग बदलौं, पछिल्लो पटक माओवादीले प्रधानमन्त्रीबाट कांग्रेसले उम्मेदवार नझिक्दा सहमति हुन सकेन भन्ने छ ।

यो कांग्रेसलाई अर्गेलो पार्नका लागि भनिएको हो । सरकार निर्माणका लागि संविधानमा नै सहमतिको व्यवस्था छ । जस अनुसार सहमतिका लागि प्रयास गरेका पनि हांै । त्यसका लागि थप समय पनि थप्यौं । तर सहमति हुन सकेन । त्यसपछि संविधानअनुसार नै बहुमतीय प्रणालीमा प्रवेश भएको हो । उम्मेदवारी फिर्ताले समाधान निस्कँदैन । प्रचण्डले प्रधानमन्त्रीले राजीनामा दिएको पाँच दिनभित्र सबै समस्या समाधान हुन्छ भनेर भन्नुभएको थियो । तर राजीनामा दिएको आज चार महिना बितिसक्यो । खै त सहमति भएको ? संविधानमा फिर्ता लिने प्रावधान छैन ।

त्यसो भए कांग्रेसले उम्मेदवारी फिर्ता नलिने हो ?

कांग्रेसले सत्ताका लागि नभएर शान्ति प्रक्रिया र संविधानका लागि लडेको हो । यसमा सहमति भएमा माओवादीकै नेतृत्व पनि हामीलाई आपत्ति छैन । तर सहमति नहुँदासम्म उम्मेदवारी फिर्ता लिँदैनौं । फिर्ता लिएर पनि सहमति हुन्छ भन्ने कुनै आधार छैन । ठोस विकल्प माओवादीले दिएको छैन । शान्ति प्रक्रियाअन्तर्गत लडाकुको समायोजन र पुनःस्थापना, वाईसीएलका अर्धसैन्य संरचनाको खारेजी र कब्जा घरजग्गा फिर्ताको मुद्दा कार्यान्वयन प्रक्रिया सुरु नभएसम्म कांग्रेसले उम्मेदवारी फिर्ता लिनु मुलुकलाई थप अन्धकारमा पुर्‍याउनु हो ।

सहमति हुन नसक्नुको मुख्य गाँठो के हो ?

अविश्वास हो । आपसी अविश्वास र शंका निकै छ । प्रजातान्त्रिक संस्थालाई कमजोर पार्न माओवादी लाग्दै छ भन्ने शंका हामीलाई छ । उहाँहरू -माओवादी) को शंका हामीलाई एक्लाउन खोजे भन्ने छ । यो शंकालाई मेटाउन ओवादीले विगतका सहमति र समझदारीको कार्यान्वयन इमानदारिताका साथ पूरा गर्नुपर्छ ।

शान्ति प्रक्रिया र संविधानमा सहमति भए माओवादीलाई नेतृत्व दिन कांग्रेस तयार छ ?

कागजी सहमतिमा मात्रै विश्वास गर्न सकिँदैन । कार्यान्वयनमा अघि बढेर विश्वासको वातावरण बन्यो भने छलफल गर्न

सकिन्छ । जोसुकै सरकारमा आए पनि आपत्ति हुनेछैन । माओवादीले नेतृत्व लिए पनि हामी अर्गेल्याइँ गर्दैनांै ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s