राजेश हमाल, करिश्मा मानन्धर, दीपक विष्ट र मीन गुरुङविरुद्ध उजुरी


प्रवीण ढकाल/काठमाडौं, १४ कात्तिक – नेपाली चलचित्रका स्थापित अभिनेता राजेश हमाल, नायिका करिश्मा मानन्धर, तेक्वान्दो खेलाडी दीपक विष्ट र भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीन गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। रियल जुसमा लेदो र कीरा भेटिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले हालेको उजुरी छानबिनमा रहेकै वेला सर्वसाधारणलाई भ्रमित पार्न विज्ञापन गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा परेको हो।

भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपाल र त्यसको उत्पादन रियल जुसको गुणस्तर सम्बन्धमा सरकारले छानबिन गरिरहेको अवस्थामा छानबिनलाई प्रभाव पार्नेगरी भ्रामक विज्ञापन गरेकोले आवश्यक छानबिन गरी कारबाही गर्न र भ्रामात्मक विज्ञापन तत्काल रोक्न माग गर्दै मञ्चले उनीहरूविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको हो। मञ्चको केन्द्रीय कार्यसमिति तथा काठमाडौं र ललितपुर जिल्ला कार्यसमितिले संयुक्त रूपमा उजुरी हालेको हो।

बजारमा बिक्री-वितरण भइरहेको रियलमा लेउ, लेदो र कीरा फेला परेपछि मञ्चले भदौ २१ गते डाबर नेपाल प्रा.लि. र कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध वाणिज्य विभागमा उजुरी हालेको थियो। उजुरीका विषयमा अहिले छानबिन भइरहेको छ। ‘यसरी छानबिन भई गुणस्तर परीक्षण भइरहेको बखत सो कार्यलाई प्रभावित गर्नेगरी चलचित्रमा काम गर्ने, नाफा लिई सामान बेच्ने र खेलकुदमा काम गर्ने व्यक्तिहरूलाई रकम दिई उनीहरूमार्फत विज्ञापन प्रकाशन/प्रसारण गराएको देखिएको छ,’ मञ्चले हालेको उजुरीमा भनिएको छ। मञ्चले नायक हमाल, नायिका मानन्धर, खेलाडी विष्ट र व्यापारी गुरुङ खाद्य परीक्षक र खाद्य उत्पादन प्रविधिका विषयमा कुनै जानकारी नभएका र आफ्नो क्षेत्रमा पाएको ख्यातिलाई डाबर नेपालबाट रकम लिई बिक्री गरी भ्रामक विज्ञापन गरेकाले उनीहरूका विषयमा आवश्यक छानबिन गर्न प्रशासनसमक्ष उजुरी हालेको जनाएको छ।

मञ्चको काठमाडांै कार्यसमितिका सचिव जगन्नाथ मिश्रका अनुसार चलचित्र, खेलकुद र व्यापारका क्षेत्रमा कमाएको ख्यातिको दुरुपयोग गर्दै हमाल, मानन्धर, गुरुङ र विष्टले रियलको गुणस्तर परीक्षण भइरहेको समयमा जनतालाई भ्रम सिर्जना गर्नेखालको विज्ञापन दिन पाइँदैन।

‘गुणस्तर छानबिन भइरहेको वेला छानबिनको टुंगो नलागीकन भ्रामात्मक विज्ञापन भइरहेकोले ती व्यक्तिहरूमाथि छानबिन गरी गलत विज्ञापन रोक्ने आदेश जारी गर्न र सो आदेशको उल्लंघन गरेमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न भनेका छौँ,’ उनले भन। उनका अनुसार उपभोक्ता संरक्षण ऐन ०५४ को दफा १० को खण्ड घ अनुसारको कसुरमा सोही ऐनको दफा १८ को खण्ड घ बमोजिम ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ। मञ्चले उपभोक्ता संरक्षण नियमावली ०५६ को नियम ५२ र सरकारको ०६४ जेठ ३१ को निर्णयअनुसार भ्रमपूर्ण विज्ञापन तत्काल रोक्नसमेत अनुरोध गरेको छ।

बजारमा लेउ, लेदो र कीरा भएको रियल बिक्री गरेको भन्दै मञ्चले दिएको उजुरीको विषयमा छानबिन गर्ने क्रममा वाणिज्य विभागले रियलको गुणस्तर जाँचका लागि ल्याब टेस्ट गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको जनाएको छ। उपभोक्ता हित संरक्षण मञ्चको काठमाडौं जिल्ला कार्यसमितिले २१ भदौमा वाणिज्य विभागका निरीक्षण अधिकृत कमल थापासमक्ष दिउँसो दुई बजे उजुरी हालेको थियो। मञ्चका पदाधिकारीले २० भदौमा चाबहिलको गंगाहिटी- ७ मा रहेको पार्वती थापाले सञ्चालन गरेको ‘पारू स्टोर×’मा बिक्रीका लागि राखिएको ल्द्य ण्ण्ज्ञद्ध इरज्ञ ब्याच नम्बरका रियलमा लेउ, लेदो र कीरा पाएको भोलिपल्ट नै गुणस्तर छानबिनका लागि विभागमा उजुरी हालेको थियो।

उपभोक्ता संरक्षण ऐन ०५४ को दफा १० अनुसार अखाद्य वस्तु बिक्री-वितरण गरी जनस्वास्थ्यमा असर गरेको कसुरमा सोही ऐनको दफा १८ बमोजिम सजायसमेत गरी पाऊँ भनी मञ्चले डाबर नेपाल प्रा.लि. र सोही कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध वाणिज्य विभागमा उजुरी हालेको थियो। तर, सो उजुरीको छानबिन दुई महिना बितिसक्दा पनि कुनै कार्य अगाडि बढ्न नसकेपछि मञ्चले सरकारका विरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। मिश्रका अनुसार सरकारले यो विषयमा यसैगरी ढिलासुस्ती गर्दै जाने र रियलको गुणस्तरका सम्बन्धमा कुनै छानबिन अगाडि नबढाउने हो भने मञ्चले छुट्टै सरकारविरुद्ध मुद्दा हाल्नेछ।

‘यो विषयमा लिंगरिङ गरिराख्ने र गुणस्तर परीक्षणका लागि ल्याबमा पठाएका छौँ भन्दै उजुरी पेन्डिङमा राख्ने हो भने अदालतमा जानुको विकल्प छैन,’ मिश्रले नयाँ पत्रिकासित भने। उपभोक्ता हित संरक्षण ऐन ०५४ को दफा ऐनको दफा १८ मा अखाद्य वस्तु बिक्रीका कारण उपभोक्ताको ज्यान जोखिम भएमा १४ वर्षसम्म कैद वा ५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्दछ। यसैगरी मञ्चले विभागमा २१ भदौमा बुझाइएको उजुरीमा उजुरीको अनुसन्धानको अन्तिम टुंगो नलागेसम्म रियलको उत्पादन, बिक्री-वितरण र उपभोग रोक्का गर्नसमेत भनिएको थियो।

तर, त्यसको पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन। अभिनेता राजेश हमालले भने रियलको गुणस्तरका विषयमा उजुरी परेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। ‘मलाई यो विषयमा डाबर नेपालले पनि जानकारी गराएको थिएन,’ उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रियलमा कुनै समस्या नभएको चिठी देखाएका थिए। सो चिठीको कपी भने मसँग छ।’ उनले रियलमा विज्ञापन खेल्न भनेर डाबर नेपालले भनेको झन्डै दुई महिनापछि मात्र आफू तयार भएको पनि बताए।

Source: Nayapatrika

Advertisements

One thought on “राजेश हमाल, करिश्मा मानन्धर, दीपक विष्ट र मीन गुरुङविरुद्ध उजुरी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s