ठूला ट्रेकिङतिर, साना भरिया


जुली गुरुङ

सोलुखुम्बु, कार्तिक १६ (जुली गुरुङ) – सोलुखुम्बुको पावै गाविसमा पर्ने खोर्दाको उकालो । रित्तै हिँड्न त कठिन, त्यसमाथि चर्को घाम । पसिना पुछ्दै र स्वाँ-स्वाँ गर्दै कलिला बालबालिका डोकोभरि सामान बोकेर लस्करै उक्लिँदै गरेका भेटिए ।सँगै पढ्ने अरू सबैजना दसैं र तिहारमा आफन्त भेट्न घरतिर हिँडे । तर बुङ, गुदेल र सोताङका यी बालबालिका भने साहूको भारी बोक्न दुई दिन लाग्ने नेले बजारतिर लागेका रहेछन् । चारदेखि ६ कक्षामा पढने यिनीहरू बिदामा भारी बोक्ने गर्दा रहेछन् ।

कापी, कलम र स्कुल पोसाक किन्ने पैसा जम्मा गर्न भारी बोकेको बुङ साब्दुका ५ कक्षामा पढ्ने रमेश राईले बताए । समूहमा भारी बोकेर हिँडिरहेका बालबालिका एउटालाई प्रश्न सोध्दा अर्कैले जवाफ दिन्थे । ‘हामी वर्षैपिच्छे दसैं-तिहारमा साहूको भारी बोक्न नेले जान्छौं,’ सोताङ हुलु निमाविमा ४ कक्षामा पढ्दै गरेकी मेनुकला राईले भनिन् । घरबाट हिँडेपछि साहूकोमा सामान पुर्‍याएर घर र्फकंदा पाँच दिन बित्छ । ‘एक जनाले १२ देखि १७ धार्नीसम्म सामान बोकेका छौं,’ अर्का सुवास राईले पसिना पुछ्दै भने, ‘धार्नीको ४० रुपैयाँ पाइन्छ ।’ उनी कक्षा ६ मा पढ्छन् ।

बाध्यता हुन सक्छ तर पनि कलिला यी लालाबाला कसैको अनुहारमा बेखुसी भेटिएन । उल्टै सबैले खुसी व्यक्त गरे, बिदामा भारी बोकेर कापी-कलम किन्न पैसा जुटाउने मौका पाएकोमा । ‘बिदा हुँदा खुसी छौं, कापी किन्ने पैसा कमाइन्छ,’ मेनुकला राईले भनिन् । समूहमा १२ वर्षकी शान्ति राई पनि थिइन्, जसको पिठ्युँमा दस धार्नीको भारी थियो । बाटोमा खाने चामल, बास बस्दा ओेढ्ने कम्बल र पकाउने भाँडा अनि खाजाका लागि भुटेको मकै पनि उनीहरूले साथमा बोकेका थिए ।

नेलेबाट सीधै उकालो र दूधकोसीसम्म ओरालो अनि फेरि नाक ठोक्किने उकालो हिँडेपछि पुगिने सोताङ गाविसभन्दा पनि निक्कै टाढा हो साहूूको भारी पुर्‍याउने ठाउँ साब्दु । अत्यन्त विकट यस क्षेत्रका आधाभन्दा बढी विद्यार्थीले बिदामा भारी बोक्ने अर्का सुवास राईले बताए । स्थानीय शिक्षक लालप्रसाद बास्तोलाका अनुसार कलिला बालबालिका साहूको भारी बोक्छन् भने ठूला विद्यार्थी पैसा कमाउन लुक्ला र नाम्चेतिर ट्रेकिङमा सहयोगी बन्न जान्छन् ।

Advertisements

One thought on “ठूला ट्रेकिङतिर, साना भरिया

  1. गरिबी को भर ले थिचिए पछी ढाकर बोक्नु भन्दा अर्को विकल्प पनि त नहुन सक्छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s