कवितामा रमेको साँझ


कुम्भराज राई/ओखलढुंगा, कार्तिक ३० । पूर्वबाट दक्षिणतिर दुधकोशी सुसाइरहेको थियो । उत्तरमा बडेमानको लिब्जु डाँडा र दुधकोशी पारीको भुम्जु डाँडाले आफ्नो आकार दाँजे जस्तो देखिन्थ्यो । दुवै डाँडाहरु राई जातिको वाम्बुले थरको उदगम् स्थलको ऐतिहासिक र प्राकृतिक धरोहरहरु हुन् । तिनै डाँडाहरुको बीचमा अवस्थित ओखलढुंगा जिल्लाको उँबु गाविस ४ आहालेमा तिहारको पहिलो दिन वाम्बुले कविहरु आफ्नो पोल्टाबाट कविता केलाउँदै स्टेजमा उक्लिए ।

घाम ढल्किँदै गर्दा राष्ट्रिय गानका सर्जक व्याकुल माइला पनि टुप्लुक्कै आइपुगे । एक माला सयपत्रीको फूलले उनको गला भरियो । अनि कानलाई कविता भएतिर पठाए । दुई दर्जनभन्दा बढी भाषा भएका राई मध्येको वाम्बुले राईहरुको १२ औँ राष्ट्रिय कविगोष्ठीको दिन यस्तै दृश्य देखिए ।   ‘यलम्बर स्मृति कविगोष्ठी’ नाम दिइएको गोष्ठीले १२ वर्ष पुरा गरेकोले पनि भाषा, साहित्य, कला र संस्कृतिको जगेर्नामा यो क्षण अत्यन्तै महत्वपूर्ण देखिन्थ्यो ।

ठ्वार्सी न च्वार्सी

आ च्वाईमे आमपाचाम्

लु है साइँला त्याङ्वाई

आब्लान्नु आसपाचाम

ब्असी जाँचै पाफु लहान

वर्षल्वा तीन खेप डिचो च्वाईमे

लाई त्यावाँ आम पाऊ ?

-पिट्नु न काट्नु

मेरो यो बुहारीलाई के गर्नु

ल है साइँला अब पनि

फर्किएनौ भने के गर्ने

आँखा जचाउन भनी

वर्षमा तीनपटक लहान जाने बुहारी

लाई अब म के गरुँ ?)

तिखो र यथार्थ सामाजिक व्यंग्य साथ उत्रिएको एउटा कविको कविताले माथि उल्लेखित अंश उठायो, सबै जना गलल्ल हाँसे, त्यसपछि तालिको फोहरा छुट्यो । त्यसैबेला माइला दाईको कान पनि ठाडो देखिएको थियो । कविता सुनाउन कोदो टिप्दै गरेको बारीको मेला छोडेर, लिप्दै गरेको घर छोडेर, चराउँदै गरेको बाख्रा गोठालोमै छोडेर, बोक्दै गरेको भारी बिसाएर आउनेको ठूलै लहर थियो । जुन लहर १२ वर्षअघि देखि चल्दै आएको हो । कति अंशुकविहरुले त हतारमा कविता लेखेर ल्याएकोले आफैले के लेखेँ भनेर हेर्न दोहोर्‍याउनु पर्‍यो ।

आम पाचा दुःखाखो पौमाखो

उङ्गु विदेश ल्वामेल्वाँ

खेतबारी डा साँरा वस्तु चरैपाचाम

ठाउँ डुम्मे रैछा ।

क्वाल टुक्रा बाक्चो वाल्खा या

साहूखो ख्वारटुम रै ।

त्याँवा चै विदेश आल्वाउँ

-के गर्ने दुःखले गर्दा

म विदेश गएपछि

खेतबारी त वाख्रा वस्तु चराउने

थलो भएछ ।

एक टुक्रा भएको जमिन पनि

साहूले जोतेछन्

अब चै विदेश जान्न ।)

अब चै विदेश जान्न शीर्षकमा ‘काले साँइला’ मार्फत लेखिएको कविताको उल्लेखित अंशले पनि ठुलै वाहवाही पायो । साँच्चै विदेशीन तयार भएका युवाहरु त कानेखुशी गरेझैँ पनि देखिन्थे । लाग्थ्यो यो कविगोष्ठी गाउँलेको वर्षभरिको दुःख बिसाउने थलो हो । गोष्ठीमा पुरस्कार जित्न थुप्रै काले साँइला र साँइलीहरु जम्मा भएका थिए । विद्यार्थीदेखि भरिया, १० वर्षका देखि ४०-५० वर्ष उमेर सम्मका कविहरु आफ्नो कविता वाचन गर्ने पालो कुरेर बसेका थिए ।

साँझ जति छिप्पिदै गयो । कविता झनै गुन्जिन थाल्यो । एकराते बजारमा लाएको माया पनि कवितामा भेटियो, विदेशीएपछि मायालुले बिर्सेका पीडाहरु पनि कवितामा पोखिए । ‘साँच्चै कति कविहरु छन् वाम्बुले भाषामा त्यो यकिन छैन’ व्याकुल माइला कानेखुशी गरेर भन्दै थिए । ‘लेखपढ जानेका सबै वाम्बुलेहरु करिबकरिब कविता लेख्न जान्दछन्’ तर जो खस भाषाको साहित्यमा अझै निकै नै पछि बामे सर्दैछन् । जो आफ्नो भाषामा लेखिएको कवितालाई खस भाषामा उल्था गर्न सक्दैनन् र पनि कविता लेख्छन् । उनीहरुलाई थाहा छैन कि मेरो कविता साँच्चै प्रखर नेपाली कवि भन्दा कमीको छैन ।

भाषा संरक्षणमा दशकौँ देखि लागेको वाम्बुले राई समाज र लिब्जु भुम्जु पत्रिकाको आयोजनामा सम्पन्न कविगोष्ठीमा लिब्जु भुम्जु पत्रिकाका सम्पादक गणेश राई पनि ध्यानमग्न थिए । ‘कसको कविता सबैभन्दा राम्रो हो ?’ दशकौँदेखि वाम्बुले साहित्य लेखनमा निरन्तर कलम चलाएका उनले पनि खुट्याउन सकिरहेका थिएनन् । अन्तत कविताले आधा रात खायो । ओखलढुंगा, उदयपुर, खोटाङ्, सोलु लगायतका सयौँ कविहरुले आफ्नो कविता जुझाए । जम्मा आठ जना पुरस्कृत भए । औंशी रातको चकमन्नता सँगै कविहरु बासस्थान खोज्नेतिर लागे । फेरि बिहानीको प्रतिक्षामा मेलापात सम्झँदै कविहरु हतारिए । तर त्यो साँझ सबैजना कवितामै रमे । त्यसैबेला अघिल्लो पंक्तिमा नाम्लो टेबलमा राख्दै कविता सुनाएका पेशाले भरिया दाई इवाराज राईको कविता मनमा दोहोरिरहृयो

‘उङ् आ भारी खो

कहिले आप्लिआँ

आ भारी उङ्

कहिल्यै आप्लेउ

आम भारी ल्वास

आ सुखा बाम

आम भारी ल्वास आ दुःखा बाम

कोई कोईमे कावातिड्खो

भारी प्ल्याम्मे

देश विदेश ब्लान्डिम्मे

तर उङ् भने आ जिन्दगीभरङा

लागि भरिया डुम बाम’

-मलाई मेरो भारीले

कहिले छोडेन

म मेरो भारीलाई

कहिल्यै छोड्दिन

यही भारीमा

मेरो सुख छ

यही भारीमा मेरो दुःख छ

सँगसँगैको साथीहरुले

भारी बोक्न छोडे

देश विदेश पुगे

तर मेरो जिन्दगीभरिको लागि

भने म भरिया नै भईरहेँ ।

Source: ekantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s