टेलिकमका दुई इन्जिनियर पक्राउपछि रिहा


ललितपुर, मंसिर ८ – नेपाल टेलिकमको स्विचिङ प्रणालीको दुरुपयोग गरी डेढ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा ललितपुर प्रहरीले टेलिकमका दुई इन्जिनियरलाई पक्राउ गरी रिहा गरेको छ । रोमिङ सेवा लिएका चार सिमकार्डमा करोडौं महसुल उठ्दासमेत सेवा नरोकी अपराधमा साथ दिएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिं थापाले बताए ।

प्रहरीले बिलिङ विभागका इन्जिनियरद्वय हंसराज विजयानन्द र दीपेन्द्र रानामगरलाई सोमबार राति पक्राउ गरी खोजेको बेला उपस्थित हुने सर्तमा मंगलबार रिहा गरेको छ । त्यसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई सरकारी वकिलको परामर्श लिएको छ । उनीहरू पक्राउ परेपछि टेलिकमका उच्च अधिकारी र कर्मचारी ट्रेड युनियनका अधिकारीहरूले तत्काल छाड्न प्रहरीलाई दबाब दिएको प्रहरीले जनाएको छ ।

स्विचिङ प्रणाली दुरुपयोगबारे अनुसन्धान, सिम वितरणमा अनियमितिता र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको बारे अनुसन्धान गर्न प्रहरीले दुई दिनअघि टेलिकम त्रिपुरेश्वरका वरिष्ठ प्रबन्धक विनोद कार्की, वरिष्ठ सहायकद्वय अमिररत्न तुलाधर र मधुसुदन रञ्जितकारलाई पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै टेलिकम कर्मचारी सघका अध्यक्ष सरोजकुमार ढुंगाना लगायतको टोली उनीहरूलाई छुटाउन ललितपुर प्रहरी पुगेको थियो । पक्राउ परेका तीन जनालाई पनि प्रहरीले ससर्त रिहा गरेको छ ।

दबाब दिन आएकाहरूले कर्मचारीको लापरबाहीका कारण नभई टेलिकमको ‘सिस्टम फेलर’ का कारण करोडौं महसुल उठ्दासमेत सेवा नरोकिएको तर्क गरेका छन् । प्रकृया नपुर्‍याई सिम तथा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिएको र करोडौं महसुल उठ्दासमेत सेवा नरोकी १ करोड ६९ लाख घाटा पुर्‍याएको आरोपमा प्रहरीले टेलिकम कर्मचारीमाथि छानविन थालेको हो ।

मंगलबार प्रहरी परिसर ललितपुरमा पुगेको टेलिकमको टोलीले सिमकार्ड वितरणमा त्रुटि भएको हुनसक्ने भन्दै निर्दोष कर्मचारीलाई छाड्न दबाब दिएको थियो । ‘निर्दोष समातिएको भन्दै सबै कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएको छ’, आरोपीलाई छुटाउन आएकाले भने, ‘टेलिकमका प्रबन्ध निर्देशक, निर्देशक र ट्रेड युनियनका सबै प्रतिनिधिको रोहवरमा उनीहरूलाई छाड्नुपर्छ ।’

प्रहरीले प्रारम्भिक छानविनमा उनीहरू दोषी देखिएको बताएको छ । टेलिकमका उच्च अधिकृतको संलग्नताबिना करोडौंको महसुल उठ्दासमेत सेवा सुचारु गर्न सम्भव नभएको भन्दै प्रहरीले बिलिङ र स्विचिङ प्रणाली हेर्ने कर्मचारीसमेत संलग्न रहेको दाबी गरेको छ । ‘माथिल्ला अधिकृतसमेत मुछिने डरले टेलिकमबाट पक्राउ परेकालाई छाड्न निरन्तर दबाब दिएका छन्’ एक प्रहरी अधिकृतले भने ।

घटनाबारे प्रहरीले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार ब्राइट वे एजुकेसन कासल्टेन्सीमार्फत् थाइल्यान्ड गएका विद्यार्थी आङसुजित लामा, रामचन्द्र केसी, राजेन्द्र खत्रीको पासपोर्टको दुरुपयोग गरी ज्योति ढुंगेल, मनोज खड्काले रिजन हुमागाईंमार्फत् पोष्टपेड मोबाइलको सिम निकालेका हुन् । हुमागाइर्ंले टेलिकम त्रिपुरेश्वरका वरिष्ठ प्रबन्धक कार्कीमार्फत् ९८५११२५१८१, ८२, ८३ र ८४ नम्बरको सिम क्रमैसँग निकालेको ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिं थापाले बताए ।

‘हुमागाइर्ंमार्फत् प्रबन्धक कार्कीले प्रक्रिया नपुर्‍याई सिम वितरण गरेको देखिन्छ’ उनले भने, ‘नागरिकताको सक्कल प्रति देखाएपछि मात्रै सिम वितरण हुने नियम उनीहरूको हकमा किन लागू भएन ?’ प्रहरीले त्रिपुरेश्वर शाखाका वरिष्ठ सहायक मधुसुदन रञ्जितकारलाई प्रक्रिया नपुर्‍याई सिम वितरण गरेको र मधुसुदन रञ्जितकारले अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रदान गरेको आरोप लगाएको छ । ‘ठेगानामा बर्दिया जिल्ला, कर्णाली अञ्चल भनी भरेको र्फमसमेत सदर भयो’ प्रहरी उपरीक्षक थापाले भने । घटनामा संलग्नको आरोप लागेका ढुंगेल र खड्का भने फरार छन् ।

प्रहरीका अनुसार सिमकार्ड वितरणपछि गिरोहले चारवटै सिमकार्डको अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएका थिए । ३० हजार धरौटी राखेर सेवा लिएपछि विदेशमा समेत टेलिकमको मोबाइल सञ्चालन गर्न मिल्छ । धरौटीको ७५ प्रतिशत रकम खर्च भएपछि सेवा स्वतः निस्कृय हुने प्रणाली छ तर गलत तरिकाले वितरण भएको चार नम्बरको हकमा भने यो नियम लागू भएन । ‘दुई दिनमा १ करोड ६९ लाख महसुल उठ्दासमेत सेवा रोकिएको छैन, यसमा स्विचिङ र बिलिङ प्रणालीमा कार्यरत प्राविधिकले सिस्टमको दुरुपयोग गरी मिलेमतोबाट सबै काम भएको देखिन्छ’ अनुसन्धान ब्युरो प्रमुख डिआइजी राजेन्द्रसिं भण्डारी भन्छन्, ‘टेलिकमका उच्च अधिकारी अनुसन्धानबारे बुझ्न आएका थिए, सबै बुझेपछि उनीहरू फर्के ।’

पक्राउ परेकालाई छुटाउन गएका कानुन शाखाका उपप्रमुख केसीले हरेक महिनाको १४ र १५ तारिखमा ‘सिस्टम फेलर’ हुने भन्दै ‘मेनुअल’ प्रणालीमा सञ्चालन गर्दा रोक्न नसकिएको तर्क गरेका थिए । ‘मेनुअल अनुसार भए करोडांै उठ्दा किन सेवा रोकिएन ?’ प्रहरीले प्रारम्भिक छानविन विवरणमा प्रश्न गरेको छ । ब्युरो प्रमुख भण्डारीका अनुसार टेलिकमको उच्च अधिकारीले सिस्टमको दुरुपयोग भएको र सिम वितरणमा त्रुटि भएको स्वीकारेका थिए । बैंककबाट सञ्चालित सिमकार्डबाट दुई दिनको अवधिमा करोडौं उठेको प्रहरीले जनाएको छ । थाइल्यान्ड पुर्‍याइएको सिम भीओआईपी फोनका लागि प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Source: eKantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s