एसियाडमा पदक विजेता दीपकको भव्य स्वागत


काठमाडौं, १३-मंसिर ।  दीपक महर्जनले आफुले जितेको पदकको महत्व सायद सोमबार राम्ररी बुझ्ने मौका पाए। त्रिभुवन विमानस्थलमा ओर्लिदा उनले भव्य स्वागतमात्र पाएनन् धेरैबाट बधाई पनि थापे।विमानस्थलमा उनलाई अंकमाल गर्नेको प्रतिस्पर्धा नै चल्यो। दीपक तीनै खेलाडी हुन् जसले चीनको ग्वाउजाङमा शनिबार सम्पन्न १६ औं एसियाली खेलकुदमा देशका लागि पदक जितेका थिए।

उनले जितेको कास्य पदकले नेपालका लागि स्वर्ण जित्तिकै महत्व राख्छ। कारण १६ औं एसियाडमा नेपालले जितेको त्यो एक मात्र पदक हो। उनले ८१ केजीमा कास्य पदक जितेका थिए। १९ खेलका १ सय ३० खेलाडीमा दीपकबाहेक अरु कहिले स्वदेश फर्किए धेरैले पत्तै पाएनन्। तर दीपकको आगमन गर्विलो र सम्मानको लागि हकदार थियो।

दीपकलाई लिन बक्सिङ पदाधिकारी, खेलाडी, बोसिगाँउका स्थानियबासीको ठुलै जमात विमानस्थल पुगेको थियो। सयौं मोटरसाइकलको बीचमा दीपकलाई गाडीमा राखेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा ल्याउदा उनलाई हेर्ने भिड थपिनु स्वभाविक थियो।

भनिन्छ जित्नेको इतिहास लेखिन्छ। दीपकले नेपाली खेलकुदमा इतिहास लेखाएका छन्। १९९० को बेजिङ एसियाडबाट बक्सिङको पदक खडेरीलाई पनि दीपकले पुरिदिएका छन्। सफलताले खेलाडीलाई थप उत्साह थप्नु स्वभाविक हो। त्यो दीपकमा पनि देखियो। ‘अब मेरो लक्ष्य भनेको ओलम्पिकका लागि छनोट हुनु हो,’ समर्थकमाझ घेरिएका दीपकले भने,’त्यसका लागि लामो तयारी जरुरी छ। अब म त्यसमै जुट्ने छु।’

देशलाई एकमात्र पदक दिलाउन सकेकोमा दंग देखिएपनि दीपक धेरै बोल्न सकिरहेका थिएनन्। उनले यत्ति भने ‘मैले यो सफलताका लागि तीनबर्ष देखि तयारी गरेको थिए। वैदेशिक तालिमले मलाई थप फाइदा पुग्यो। त्यो प्रशिक्षणले नयाँ ‘टेक्निक’ सिक्ने अवसर मिल्यो। देशवासीलाई खुसी बनाउन पाउँदा म झन खुसी छु।’ थाइल्यान्डमा तीनसाता लामो प्रशिक्षणपछि उनी सिधै ग्वाउजाउ पुगेका थिए।

अनुभव र तयारीको कारणनै अन्य खेलाडीले पदक जित्न नसकेको उनको ठम्माई छ। ‘अन्तर्राष्ट्रिय खेलका लागि अनुभव र तयारी दुवै आवश्यक छ। यसपटक अन्य खेलका खेलाडीमा त्यसको कमी थियो,’ उनले थपे,’त्यसमा वैदेशिक प्रशिक्षण अतिआवश्यक छ। सफलता त्यसै आउँदैन।’

Source: Nagarik

Leave a comment