जाडो छल्न पोखरा आइपुगे मुस्ताङका विद्यालय


पोखरा, मंसिर २० – असरल्ल पारेर सिरक डोसना राखिएको छ। बिस्तारामै बसेर नानीहरु पढिरहेका छन्। नानीहरुको दिउँसो पढ्ने र राती सुत्ने थलो एउटै हो। शिक्षक शिक्षिकाले तिनै बिस्तारामा बसेर पढाइरहेकी हुन्छिन। जाडो छल्न उपल्लो मुस्ताङबाट पोखरा झरेका विभिन्न ६ वटा प्राथमिक विद्यालयका विद्यार्थी अहिले एउटै भवनभित्र बसेर पढिरहेका छन्। ६ वटा विद्यालयले एउटै भवन भाडामा लिएर सामुहिक कक्षा संचालन गरेका छन्। विद्यार्थीको बसोबासदेखि खानपिन पनि सामुहिक नै छ।  अत्यधिक चिसो हुने उपल्लो मुस्ताङका यी विद्यालय जाडो छल्न कात्तिक अन्तिम साता विद्यार्थी सहित झोलिकुम्लो बोकेर पोखरा झरेका थिए। सामुदायिक घुम्ति विद्यालय संचालन गर्न थालेका यी विद्यालयका कतिपय विद्यार्थी अझै अनुपस्थित छन्। ६ वटा विद्यालयमा करिब ६० जना विद्यार्थी भएपनि अहिलेसम्म ४६ जना मात्र उपस्थित छन्। केही दिनपछि सुरु हुने वार्षिक परिक्षाका लागि सबै विद्यार्थी आईपुग्ने शिक्षकहरु बताउँछन्। एउटै भवनमा बसेका विद्यालयहरुमा नम्ग्यालको बुद्ध प्रावि, ठिंगरको वीरेन्द्र प्रावि, छोन्हुपको जनप्रभात प्रावि, किम्लिङको भृकुटी प्रावि, चुम्जुङको दिव्यज्ञान प्रावि र न्याम्डोको सरस्वती प्रावि छन्। ती बाहेक लोमान्थाङको राष्ट्रिय निमावि नागढुंगामा र छोसेरको दीव्यदीप मावि लामाचौरमा झरेका छन्।  एकैठाउँ बसेका विद्यालय मध्ये बुद्धमा १३, वीरेन्द्रमा ८, जनप्रभातमा ९, भृकुटीमा ११, दीव्यज्ञानमा ९ र सरस्वतीमा ८ जना विद्यार्थी छन्। विद्यार्थीलाई तह अनुसार मिलाएर कक्षामा राखिएको छ। ‘सबै विद्यार्थीलाई तह मिलाएर एकैठाउँमा राखेर पढाईरहेका छौ’ दीव्यज्ञान प्राविका शिक्षक राजकुमार शर्माले भने, ‘उनीहरुको हाजिरी समेत एउटै पुस्तिकामा गरिन्छ।’

पोखराको चिसाखोलास्थित मुक्तिनाथ समाजघरको भवन मासिक १२ हजार ५ सय रुपैयाँमा भाडामा लिएर सामुहिक पठनपाठन संचालन गरेका यी विद्यालयको प्रशासनिक काम समेत एकै ठाउँबाट गरिन्छ। खुला हललाई पर्दाले छेकेर कोठा बनाएर विद्यार्थी र शिक्षकका लागि भाग लगाइएको छ। शिक्षकहरु पनि सोही भवनमै सुत्छन्। अत्यधिक चिसो हुने भएकोले गतवर्षदेखि विद्यालयलाई पोखरा झारेर पठनपाठन सुरु गरेको सामुदायिक घुम्ति विद्यालय व्यवस्थापन समित अध्यक्ष ग्याल्जेन गुरुङले बताए। ‘खपिनसक्नु चिसो हुन्छ, यो पाली त झनै कात्तिकमै हिउँ परेकोले चिसो बढिसकेको थियो’ गुरुङले नागरिकसँग भने, ‘घुम्ती विद्यालय संचालन नगर्ने हो भने विद्यार्थीले पढ्नै पाउँदैनन।’ घुम्ती विद्यालय संचालन गर्नुअघि यी विद्यालयका विद्यार्थी अभिभावकसँगै पोखरा झर्थे।  चिसो सुरु हुनासाथ उपल्लो मुस्ताङका बासिन्दा घरमा ताला लगाएर पोखरा लगायतका शहरमा झर्छन। उनीहरुले यो बेला विभिन्न घरायसी बस्तुको व्यापार गर्छन। पोखरा झरेका विद्यार्थीको उमेर ५ देखि ११ वर्ष छ। मंसिरमा झरेका यी विद्यालय फागुन मध्यमा फर्किन्छन्। सामुदायिक घुम्ति विद्यालय संचालनका लागि छोन्हुप गाविसले ४ लाख रुपैयाँ उपलब्ध गराएको छ। मंसिरदेखि फागुन मध्यसम्म (साढे ३ महिना) का लागि गाविसले दिएको रकमले विद्यालय संचालन गर्ने हो।

त्यसबाहेक प्रत्येक विद्यार्थीसँग १ हजार रुपैयाँका दरले शुल्क उठाउने अध्यक्ष गुरुङले बताए। ‘गाविसले दिएको रकमले पुग्दैन, त्यसैले विद्यार्थीसँग शुल्क उठाउनुपर्छ’ उनले भने। प्रत्येक विद्यार्थीका लागि मासिक करिब ३ हजार रुपैयाँ खर्च लाग्छ। सरकारले यी विद्यार्थीलाई छात्रवृत्ति नदिँदा पढाईमा समस्या रहेको उनले सुनाए। ‘प्रावि तहका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन शिक्षा कार्यालयमा माग गर्दा एकिकृत रुपमा संचालन गरेको खण्डमा मात्र सम्भव हुने बताउँछन्’ गुरुङले भने, ‘एकीकृत रुपमा संचालन गर्न पनि छात्रावास बनाउनुपर्छ।’ उनले उपल्लो मुस्ताङमा छात्रावास बनाईदिएको खण्डमा एकीकृत विद्यालय संचालन गर्न आफुहरु तयार रहेको बताए। ‘घुम्ति विद्यालय संचालन गर्ने अवधिसम्मका लागि छात्रवृत्ति पाउने हो भने राहत हुन्थ्यो’ उनले भने। सरकारले उपल्लो मुस्ताङका निमावि तहका विद्यार्थीलाई भने घुम्ति विद्यालय संचालन गर्ने अवधि (३ महिना) का लागि मासिक १ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। प्रावि तहका विद्यार्थीलाई पनि छात्रवृत्ति दिनुपर्ने ती विद्यालयको माग छ।

नागढुंगामा छुट्टै बसेको लोमान्थाङको राष्ट्रिय निमाविका प्रत्येक विद्यार्थीले मासिक १ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति पाउने प्रधानाध्यापक गोविन्द प्रधानले बताए। स्थानीय घ्याचो गुरुङको घरमा बसेका राष्ट्रिय निमाविका विद्यार्थीको पनि पढ्ने र सुत्ने ठाउँ एउटै हो। २८ छात्र र २५ छात्रा रहेको यस विद्यालयका विद्यार्थीको पोखरा बसाई अवधिको लागि मुस्ताङी राजकुमार झिग्मि सिंगे परवल विष्टले समेत सघाउँदै आएका छन्।  विद्यार्थीको पोखरा बस्दाको अवधिको अपुग रकम विष्ट आफैले ४ वर्षदेखि व्यहोर्ने गरेका छन्। ‘सरकारी छात्रवृत्तिले पुग्दैन, अपुग रकम युवाराजले दिनुहुन्छ’ प्रधानले भने, ‘विद्यार्थीलाई पोशाक पनि दिनुहुन्छ।’ विष्टले यो वर्ष सामुदायिक घुम्ति विद्यालय संचालन गरेर बसेका विद्यालयका विद्यार्थीलाई पोशाक भने उपलब्ध गराउने आश्वासन दिएका छन्।  ३ हजार ७ सय मिटर माथिको उपल्लो मुस्ताङ क्षेत्रमा असोजदेखि फागुनसम्म उत्तरी हावा लाग्ने भएकोले बसाई कष्टकर हुनेगर्छ। उपल्लो मुस्ताङमा जाडोयाममा माईनस १५ डिग्रि सेल्सीयस सम्म तापक्रम ओरालो लाग्छ। उपल्लो मुस्ताङ पुग्न जोमसोमबाट करिब ४ दिन पैदल हिड्नुपर्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s