ऊर्जामन्त्री र सचिवबीच भेटघाटसमेत बन्द


काठमाडौं, मंसिर २२ – विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकमा ऊर्जा मन्त्रालयका सचिवका तर्फबाट कानुनविपरीत निमित्त सचिवका नाममा सहसचिव राजेन्द्रकिशोर छेत्री सहभागी हुँदै आएका छन् ।

विद्युत् प्राधिकरण ऐनमा ऊर्जा सचिव प्राधिकरणको सञ्चालक समितिको सदस्य हुने प्रस्ट व्यवस्था भएकाले निमित्त या कायममुकायम सचिव बैठकमा सहभागी हुनु कानुनविपरीत हुने मन्त्रालयकै अधिकारीहरू बताउँछन् । कानुनमा ऊर्जा सचिवले गर्ने भनिएको कामकारबाही निमित्त या कायममुकायमले गर्न पाउँदैनन् ।

ऊर्जामन्त्री डा. प्रकाशशरण महत र सचिव शंकर कोइरालाबीच चार महिनादेखि बोलचाल बन्द भएपछि प्राधिकरणको बैठकमा सचिवको सट्टामा छेत्रीलाई सहभागी गराउन थालिएको जानकारी स्रोतले दियो ।

सहसचिव अर्जुनकुमार कार्कीलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने सवालमा मन्त्री महतसित चार महिनाअघि विवाद भएपछि सचिव कोइराला प्राधिकरणको बैठकमा जान छाडेका छन् । सर्वोच्च अदालतबाट कार्कीको नियुक्ति बदर भए पनि महत र कोइरालाबीचको विवाद साम्य हुन सकेको छैन ।

ऊर्जामन्त्री महतसित बोलचालसमेत नभएकाले उनी अध्यक्ष रहेको प्राधिकरणको सञ्चालक समितिमा कोइराला अनुपस्थित रहने गरेको स्रोतले उल्लेख गरेको छ । सचिव कोइराला आफैं बैठकमा अनुपस्थित रहने गरेकाले निमित्त सचिवका नाताले छेत्रीलाई बैठकमा सहभागी गराइएको मन्त्री महत निकट स्रोतले उल्लेख गरेको छ ।

कोइराला मन्त्रीसितको विवादका कारण कार्यालयमा समेत खासै आउँदैनन् । ऊर्जामन्त्री र सचिवबीच चार महिनादेखि भेटघाटसमेत बन्द भएको छ । कोइराला १०/१५ दिनमा एकपटक, त्यो पनि मन्त्री महत नभएको मौका पारेर कार्यालयमा आउने गरेका छन् । महतले मन्त्रिपरिषद्मा कोइरालालाई आफ्नो मन्त्रालयबाट अन्यत्र सरुवा गराउन पटक-पटक प्रस्ताव राख्दै आएका छन् तर प्रधानमन्त्री माधवकुमार नेपाल नमानेका कारण कोइरालाको सरुवा हुन नसकेको हो ।

यसैबीच सरकारले ऊर्जा मन्त्रालयका नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखाका सहसचिव अनुपकुमार उपाध्यायलाई जल तथा शक्ति आयोगमा सरुवा गरिएको छ । उनको ठाउँमा अर्को सहसचिवलाई ल्याइएको छैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s