पारसलाई कारबाही गर : कांग्रेस | व्यक्तिगत विषयमाथि राजनीतिः पारस


imageउपप्रधानमन्त्री सुजाता कोइरालाका छोरीज्वाइँमाथि ‘फायरिङ’ गर्ने पूर्वयुवराज पारसमाथि कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । तर, पारसले भने व्यक्तिगत विवादलाई राजनीतिकरण गर्न

काठमाडौं,छोरी मेलानी र ज्वाइँ रुवेललाई मार्छु भन्दै पारसले गोली चलाएको भन्दै सुजाताले पार्टीमा जानकारी दिएपछि सभापति सुशील कोइरालाले सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । ‘फायरिङ’ घटनाबारे जानकारी लिन उनी प्रचण्डनिवास नयाँबजार पुगेका थिए । बिरामी रहेका प्रचण्डलाई भेट्न पुगेका सभापति कोइरालाले ‘पारसशैली’विरुद्ध कसरी अघि बढ्ने भन्ने छलफल गरेको स्रोतले जनाएको छ । दुई नेताबीच भएको ४५ मिनेट लामो भेटमा पूर्वयुवराज पारसमाथि कस्तो कारबाही गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । नयाँबजारबाट फर्किएपछि कांग्रेस सभापति कोइरालाले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै पारसमाथि तत्काल कारबाही गर्न माग गरेका छन् । ‘पारसले गोली चलाई आक्रमण गरेको घटना स्वीकार गरिसके पनि दोषीमाथि कारबाही नगरिएकोमा हामी आश्चर्यचकित छौँ’ विज्ञप्तिमा भनिएको छ । कोइरालाले पारसलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन् । उपचारका लागि अस्पतालमा रहेका नेविसंघ अध्यक्ष प्रदीप पौडेलले पनि कांग्रेसनेत्री सुजाता कोइरालाका छोरी र ज्वाइँमाथि पारसद्वारा गोली चलाएको घटनाको निन्दा गरेका छन् । अध्यक्ष पौडेलले पारसले घटना स्वीकार गरिसक्दासमेत उनलाई कारबाही नगरिएको भन्दै सरकार मूकदर्शक बनेको आरोप लगाएका छन् । ‘पारसलाई तत्काल गिरफ्तार गरी कानुनअनुसार कारबाही गर्न र विधिको शासनको प्रत्याभूति दिलाउन माग गर्दछौँ,’ उनले भनेका छन् । यता गृह मन्त्रालयले टाइगरटप्स घटना छानबिन गर्न प्रहरी नायव महानिरीक्षक गंगाप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्द र सहअनुसन्धान निर्देशक अर्जुन केसी सदस्य छन् । समितिलाई तत्काल काम सुरु गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनी कार्य गर्ने जो-कोहीलाई पनि कानुनबमोजिम कारबाही गर्न मन्त्रालय दृढ छ ।’ मन्त्रालयले घटनाबारे चितवन जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । यता शनिबार रातिको घटनापछि रुवेल, श्रीमती मेलानी र छोरा मोहिन सोमबार दिउँसो काठमाडौं आइपुगेका छन् । सुजाता छोरीज्वाइँलाई भेट्न कांग्रेस सभापति कोइराला मण्डिखाटार पुगेका थिए । सुजातानिवासमा नै बस्दै आएका रुवेलसँग कांग्रेस सभापतिले घटनाको विषयमा जानकारी लिएका थिए । सभापति कोइरालाले भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वयुवराज पारसलाई तत्काल गिरफ्तार गरी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘घटना दुःखद् छ, दोषी आफैंले गल्ती स्वीकार गरिसक्दा पनि उनलाई पक्राउ नगर्नु हास्यास्पद हो ।’ सभापतिसँगै पुगेका नेता कृष्णप्रसाद सिटौलाले सामान्य नागरिकसँग हतियार हुन नसक्ने भन्दै पारसले कानुनी शासनको धज्जी उडाएको बताए । ‘कानुनी शासनको प्रत्याभूति दिलाउन पनि सरकारले तत्काल पारसलाई पक्राउ गरी कारबाही गर्नुपर्छ,’ सिटौलाले भने । आफ्नै निवास पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै रुवेलले आफू टाइगरटप्समा सामान्य अवस्थामा बसिरहेको समयमा पारस होटलमा पुगेको बताए । ‘उनले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरौँ भन्दै थिए, तर मैले राजनीतिक कुरा गर्दिनँ भनेँ,’ उनले भने । राजनीतिक अवस्थाबारे छलफल गर्न अस्वीकार गरेपछि पारसले नेपालको राजतन्त्र समाप्त पार्ने कोइराला परिवार नै हो भन्दै कन्चटमा पेस्तोल तेस्र्याएको उनले बताए । ‘नेपालमा राजतन्त्र मास्ने कोइराला परिवार हो, तिमीहरूलाई छोड्दिनँ भन्दै पारसले मेरो कन्चटमा पेस्तोल राखे,’ रुवेलले भने । पेस्तोल पड्किएपछि छलेर आफू बच्न सफल भएको दाबी उनले गरे । ‘म बचेँ, खुदा -भगवान्) लाई धन्यवाद,’ उनले भने । साथीहरूको सहयोगमा होटलको पछाडिबाट भोगेर बाँचेको उनले बताए । रुवेलले सुजाताको ज्वाइँ भएकै कारण आफूमाथि आक्रमण भएको भन्दै पारसलाई तत्काल कारबाही गर्नुपर्ने मागसमेत गरे । सोमबार बिहान नै सुजाताका निजी सचिव हरि ढुंगानाले सभापति कोइरालासँग भेटी घटनाको विषयमा जानकारी गराएका थिए । सभापति कोइरालाले चितवन घटना लोकतन्त्र र नेपालका राजनीतिक दलमाथिकै प्रहार भएको भन्दै दोषीमाथि कारबाहीका लागि पार्टीले गम्भीरताका साथ कुरा अघि बढाउने आश्वासन दिएका थिए । सुजाता भने अहिले पनि विदेशमा छिन् । व्यापक विवादबीच चितवनबाट आइतबार काठमाडौं आएका पूर्वयुवराज सोमबार साथीहरूसँग पोखरा गएका छन् । फिस्टेल एयरको हेलिकोप्टरबाट अपराह्न सवा दुई बजे उनी पोखरा उत्रिएका छन् । उनले पोखराबाटै सहयोगीमार्फत नयाँ पत्रिकासित कुरा गर्दै घटनालाई राजनीतिकरण गरिएको प्रतिक्रिया दिए । ‘दुईजनाबीच भनाभन भएको विषयलाई राजनीतिकरण गर्न खोजियो, यो यति धेरै चर्चा र विवाद गर्नुपर्ने विषय होइन,’ उनको भनाइ छ । चारजना साथीसँग पारस पोखराको फूलबारी रिसोर्टमा बसेका छन् । ‘मंगलबार उहाँहरू मनाङ र मुस्ताङको यात्रामा जाने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘बिहीबार काठमाडौं र्फकने योजना छ ।’ उता घटनास्थल टाइगरटप्स रिसोर्टलाई सोमबार प्रहरीले आफ्नो पकडमा राखेको छ । रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई प्रहरीले मेघौलीबाटै फर्काइदिएको छ । ‘घटनाका प्रत्यक्षदर्शीहरूसँग प्रहरीले जानकारी लिइरहेको छ, तपाईंहरू आज डिस्टर्व नगरिदिनोस्’ यति भनेर सुरक्षाकर्मीले पत्रकारहरूलाई फर्काइदिएका थिए ।

 

नयाँ पत्रिका

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s