एभ्कोबाट किनेको हुन्डाईका गाडी लिलाममा


काठमाडौं, पुस १२ – सर्वसाधारणले एभ्को इन्टरनेसनललाई पैसा बुझाएर किनेका हुन्डाईका कारलाई माछापुच्छ्रे बैंकले लिलामी प्रक्रियामा लैजान सुरु गरेको छ। ग्राहकसँग पैसा उठाएर माछापुच्छ्रे बैंकबाट प्रतीतपत्र (एलसी) खोलेको एभ्कोले त्यो पैसा नबुझाएकाले बैंकले गाडी लिलाम गर्ने प्रक्रिया सुरु गरेको हो। ‘ऋण तिर्ने सूचना जारी गरेका छौं, तोकिएको अवधिभित्र ऋण चुक्ता नभए लिलामी प्रक्रियामा जानेछौं,’ बैंकका कर्जा विभाग प्रमुख दीपेन्द्र श्रेष्ठले नागरिकसँग भने। व्यवसायीले सर्वसाधारणलाई कसरी ठगी गर्छन् भन्ने यो एउटा उदाहरण हो। माछापुच्छ्रे बैंकबाट प्रतीतपत्र खोलेर गाडी ल्याएको एभ्कोले त्यसको सबै पैसा चुक्ता गरेको छैन। बैंककै नाममा रहेका ती गाडी पैसा चुक्ता नगरिसकेकाले गाडी धनीमा नामसारी भएको छैन।बैंकले ऋण उठाउन गाडीलाई लिलाम गर्नुपर्ने हुन्छ। त्यसैको प्रक्रिया स्वरुप बैंकले पुस ४ मा ३५ दिने सूचना जारी गरेको हो। यो अवधिमा गाडी धनीले पैसा बुझाए भने लिलामी गरिने छैन। लिलामी प्रक्रिया ३५ दिनपछि सुरु भए पनि गाडी भने ६ महिनापछि मात्र ग्राहकबाट खोसिने छ। राष्ट्र बैंकको पहलमा गत साता माछापुच्छ्रे बैंक, पीडित ग्राहक, प्रहरी र अपराध अन्वेषण विभागबीच भएको छलफलले ६ महिनाभित्र पनि कुनै समाधान ननिस्किए लिलामीमा जाने सहमति भएको थियो। ग्राहकले गाडी प्रयोग गर्न पाए पनि आफ्नो नाममा नामसारी नहुँदा बिमा तथा सुरक्षामा समस्या आएकाले प्रहरीको रोहवरमा आगामी ६ महिनाका लागि ब्लुबुक (धनीपुर्जा) उपलब्ध गराउने सहमति भएको छ। ‘गाडी चढ्न अप्ठ्यारो भयो भन्ने गुनासो आएकाले हामीले त्यसमा सहयोग गरेका हौं,’ श्रेष्ठले भने, ‘त्यतिन्जेल समाधान निस्किएला।

‘ उनले यसका लागि प्रहरीले सहयोग गरेको भन्दै बैंक सकभर गाडी लिलाम गर्ने पक्षमा नरहेको बताए। राष्ट्र बैंक स्रोतका अनुसार आगामी ६ महिनाभित्र एभ्कोले पैसा तिर्‍यो वा अन्य धितो राखेको अवस्थामा मात्रै ग्राहकमा नामसारी हुने गरी सहमति गराएको हो। ‘बैंकले कसैलाई मर्का पर्‍यो भन्दैमा पैसा डुब्न दिन मिल्दैन,’ राष्ट्र बैंक अधिकारीले भने, ‘तत्काललाई ग्राहक अप्ठ्यारोमा नपरुन् भनेर मात्र सहमति गराइएको हो।’ बैंकको आग्रहमा कर्जा सूचना केन्द्रले एभ्को इन्टरनेसनल र यसका सञ्चालक विनिता प्रधानलगायतलाई कालो सूचीमा राखिसकेको छ। एभ्को इन्टरनेसनलले बैंकको ४५ करोड रुपैयाँ तिर्न बाँकी छ। एभ्कोले १ सय ६७ वटा गाडीको पैसा बैंकलाई तिरेको छैन।बैंकका अनुसार एभ्को इन्टरनेसनका अधिकारीहरु ६ महिनादेखि सम्पर्कमा आएका छैनन्। एभ्कोले ग्राहकबाट पैसा असुलेर नामसारी नगरेको समाचार सार्वजनिक भएपछि कोरियास्थित हुन्डाई कम्पनीका उच्च अधिकारीको एक टोलीआएर उसलाई अधिकारिकबिक्रेताबाट हटाएको थियो।

 

nagarik

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s