राजीनामा र सहमति सँगसँगै : ओली


काठमाडौ, जेष्ठ १६ – एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा र राष्ट्रिय सहमतिको निर्माण सँगसँगै अघि बढ्ने बताएका छन् । ‘प्रधानमन्त्रीको राजीनामा स्वतन्त्र विषय होइन । राष्ट्रिय सहमति बनाउन हो,’ आइतबार भारतको राजधानी दिल्ली प्रस्थान गर्नुअघि उनले भने, ‘अगाडि र पछाडि भन्नेभन्दा पनि यी दुवै सँगसँगै अघि बढ्ने विषय हुन् । तीन दलबीच तीन बँुदामा भएको सम्झौताको अर्थ सहमतिको यात्रामा गएर राष्ट्रिय सहमतिको सरकार बनाउने हो ।’ शान्ति प्रक्रिया सफल बनाउने सन्दर्भमा बाँकी रहेका विषयमा सहमति कायम गरे राष्ट्रिय सरकार निर्माणका निम्ति प्रधानमन्त्रीले राजीनामा दिने जानकारी दिँदै उनले भने, ‘सकेसम्म छिट्टै सहमति होस् भन्ने हो ।’ पाँच दिनमा राजीनामा दिने सहमति भएको होइन ? भन्ने प्रश्नमा उनले भने, ‘पाँच दिनमा सहमति भयो भने त राम्रो हो ।’ राष्ट्रिय सरकारको नेतृत्व सहमतिमा तय गरिने उनले बताए । तपाईं नै प्रधानमन्त्री हुने चर्चा छ नि भन्ने प्रश्न गर्दा ओलीले भने, ‘त्यो पनि राम्रै हुन्छ ।’ नियमित उपचारका लागि दिल्ली गएका ओली सोमबार स्वदेश र्फकने कार्यक्रम छ ।

Leave a comment