यौन व्यवसाय व्यवस्थित पार्न यौन अधिकार सञ्जाल गठन


महेश्वरचामलिङ राई, उदयपुर, मङ्सिर १७- यौन व्यवसायलाई समाजमा कानुनबमोजिम खुलारुपमा सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै यौन अधिकारकर्मीहरुले उदयपुरमा यौन अधिकार सञ्जाल गठन गरेका छन्। लुकिछिपी हुने यौन सम्पर्कलाई व्यवस्थित तुल्याउन पहल गर्ने उद्देश्यले यो गठन भएको उनीहरुले बताएका छन्।  माधवप्रकाश पराजुलीको अध्यक्षतामा गठित सात सदस्यीय समितिको सचिवमा वन्दना भण्डारी र सदस्यहरुमा विमला ढुङ्गाना, गङ्गा राई, राजु तुलाधर, डबलकुमारी राई र निर्मला कटुवाल छन्। जिल्लाका अगुवा अधिकारकर्मीहरु दुर्गाकुमार थापा, सिर्जना दनुवार र प्रभाकर श्रेष्ठ सल्लाहकार छन्। स्थानीय मानव अधिकार क्षेत्रमा क्रियाशील व्यक्तिहरु सदस्य रहेको समितिले गाईघाट, कटारी, बेल्टारलगायत् जिल्लाका विभिन्न बजारमा लुकिछिपी यौन व्यवसाय सञ्चालन गर्नेहरुलाई कानुनी दायरामा ल्याएर खुल्ला गर्न राज्यसमक्ष दबाव सिर्जना गर्न वकालत थाल्ने जनाएको छ।

यौन व्यवयाय पनि अन्य व्यवसायसरह मान्यताप्राप्त हुनुपर्ने तर समाजमा नकारात्मक असर पार्न नहुने गरी कानुनी प्रावधानको व्यवस्था गर्न समिति गठन गरिएको अध्यक्ष पराजुलीले बताए। ‘स्त्री र पुरुषको राजीखुसीबमोजिम सुरक्षित र सावधानीपूर्वक यौन सम्पर्क गर्न पाउनुपर्ने कानुनी व्यवस्था निर्माण गर्न हामी सङ्गठित भएका हौं’- उनले भने।

Leave a comment