विकिलिक्सको पुरानो साइट बन्द, स्विट्जरल्यान्डबाट नयाँ खुला


लन्डन, मंसिर १७ (एजेन्सी)- ‘डोमेन नेम सर्भिस’ (डीएनएस) उपलब्ध गराउने कम्पनीले अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको विकिलिक्स डट ओआरजी  बन्द गरिदिएपछि उसले स्विट्जरल्यान्डबाट विकिलिक्स डट सीएच नयाँ डोमेनबाट साइट सुचारु गरेको छ।  विकिलिक्स डट ओआरजी डोमेनलाई डीएनएस उपलब्ध गराइरहेको एभ्रीडीएनएस डट नेटले व्यापक रुपमा साइबर आक्रमण भएको कारण देखाउँदै साइट बन्द गरेको जनाएपछि विश्वभर विकिलिक्स हेर्न नसकिने भएको थियो।   विकिलिक्सले नेपाली समय अनुसार अपराह्न ३ बजे ट्विट गरी विकिलिक्स डट सीएच र http://88.80.13.160 मार्फत् आफ्नो  अभिव्यक्ति स्वतन्त्रताको आफ्नो अभियान जारी रहने जनाएको हो। एभ्रीडीएनएसले यस्तो आक्रमणले आफ्ना पूर्वाधार र अन्य हजारौँ साइटहरुमा पनि असर पर्ने भएकोले विकिलिक्सलाई बन्द गर्नुपरेको जनाएको छ। साइट बन्द भएपछि विकिलिक्ससँग रहेको भनिएका साढे दुई लाखभन्दा बढी कागजात सार्वजनिक गर्ने प्रक्रिया झन् ढिला हुने भएको छ।

विकिलिक्सले आफ्नो ट्विटरमा साइट बन्द भएको पुष्टि गरेको थियो। एभ्रीडीएनएस डट नेटले २४ घण्टे सूचना जारी गर्दै विकिलिक्स डट ओआरजी नेपाली समय अनुसार बिहान पौने नौ बजेदेखि बन्द गरेको हो। यसअघि अमेरिकी कम्पनी अमेजनले आफ्नो सर्भरमा विकिलिक्स होस्ट गर्न अस्वीकार गरेको थियो। त्यसपछि विकिलिक्सले युरोपको सर्भरबाट कागजात सार्वजनिक गर्ने क्रम जारी राखेको थियो। विकिलिक्सले कागजात छिटो सार्वजनिक गर्न सहयोगका लागि  कोलाटेरल मर्डर साइटमा चन्दा आह्वान गरेको छ।

posted by -Gopal magar                                                                                  source- nagarik

Leave a comment